मंगलबार, वैशाख ९, २०८२

देउवालाई महेश आचार्यको फेसबुके सुझाव

महेश आचार्य २०७८ फागुन ६ गते १३:०३

पूर्व अर्थमन्त्री एवं नेपाली कांग्रेसका नेता महेश आचार्यले सामाजिक सन्जालमार्फत प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई एक पत्र लेख्दै एमसीसीका लागि नेपालले संयुक्त राष्ट्रसंघले अन्तर्राष्ट्रिय महासन्धि अनुमोदन गर्ने ढाँचा उपयोग गर्न सक्ने सुझाव दिएका छन् । यस्तो छ आचार्यको पत्र :

सम्माननीय प्रधानमन्त्रीज्यू,
नेपालको संविधानको सर्वोच्चताको प्रश्न, देशको सार्वभौमसत्तामा खलल पुग्छ कि भन्ने चिन्ता र नेपाल सैन्य गठबन्धनमा फस्ने पो हो कि भन्ने डर एमसिसि बहसमा प्रकट भएको देख्छु। यि चिन्ता समाधान गर्न नेपालले संयुक्त राष्ट्र संघले अन्तर्राष्ट्रिय महासन्धि अनुमोदन गर्ने ढाँचाको उपयोग गर्न सक्छ ।

उदाहरणका लागि,

नेपालको सार्वभौम प्रतिनिधि सभा र राष्ट्रिय सभा,

नेपालको संविधानको सर्वोच्चता र सर्वोपरिता सम्झौताको कुनै पनि व्यबस्था र सर्त भन्दा माथि रहेको पुष्टि गर्दै,

नेपालको सार्वभौमसत्ता, स्वतन्त्रता र स्वाधिनता अक्षुण्ण र अनुलंघनिय रहेको राष्ट्रिय प्रतिबद्धता प्रकट गर्दै,

संयुक्त राष्ट्र संघको बडापत्र, असंलग्नता, पञ्चशीलको सिध्दान्त , अन्तर्राष्ट्रिय कानुन र विश्वशान्तिको मान्यता तथा कुनै सैन्य गठबन्धनमा सामेल नहुने नेपालको परराष्ट्र नीतिको निरन्तरतालाई आत्मसात् गर्दै,

नेपाल र संयुक्त राज्य अमेरिका पक्ष भएको यस संझौताले आर्थिक विकास द्वारा नेपालको गरिबी घटाउने साझा उद्देश्य हासिल गर्ने विश्वास गर्दै;

अनुसुचिमा संलग्न संझौता अनुमोदन गर्ने घोषणा गर्दछ।

राजनीतिक दलहरु संग यस्तो ढाँचामा छलफल गर्नु उपयुक्त र सहयोगी हुन सक्छ।
जय नेपाल !
महेश आचार्य

प्रतिक्रिया