बिहीबार, वैशाख ११, २०८२

नेप्से सूचकसँगै कारोबार रकम पनि खुम्चियो

नेपालखोज २०७८ फागुन ६ गते १३:५३

काठमाडौं । यो साता पनि सेयर बजार परिसूचक खासै सुखद देखिएन । नेप्सेको नियमित कारोबार कक्ष पाँच कार्य दिन नै खुले पनि तीन कार्य दिन नेप्से लगातार ओरालो लाग्यो भने दुई कार्य दिन उकालो लाग्यो । दुई कार्य दिन नेप्से बढे पनि कारोबार रकम बढ्न नसक्दा नेप्से सूचक तथा कारोबार रकम दुवै नै गत साताको तुलनामा यो साता खुम्चिएका छन् ।

जसअनुसार नेप्से २७ सय ३२ दशमलव ५१ अंकमा सीमित हुँदा सेन्सिटिभ इन्डेक्स पनि पाँच सय १८ दशमलव ६४ अंकमा सीमित हुन पुगेको छ । यो साता दुई सय ३१ कम्पनीको दुई लाख ४९ हजार दुई सय ५२ पटकको कारोबारमा तीन करोड ५२ लाख २४ हजार दुई सय ५७ कित्ता सेयर खरिद–बिक्री भएका छन् । जसबाट कुल कारोबार रकम १८ अर्ब १९ करोड ९० लाख ४७ हजार सात सय चार रुपैयाँमा सीमित हुन पुगेको छ ।

गत साता भने दुई सय ३० वटा कम्पनीको तीन लाख चार हजार सात सय ६२ पटकको कारोबारमा चार करोड ५६ लाख ८१ हजार पाँच सय ५१ कित्ता सेयर खरिद–बिक्री भएका थिए । सोही आधारमा उक्त साता कुल कारोबार रकम २४ अर्ब ४४ करोड ६३ लाख दुई हजार दुई सय आठ रुपैयाँ पुगेको थियो ।

यो साता नेप्से पाँच कार्य दिन नै खुलेकामा दोस्रो र तेस्रो कार्य दिन नेप्से बढेको थियो भने बाँकी कार्य दिन नेप्से लगातार घटेको थियो । सोही आधारमा पहिलो दिन एक सय दशमलव ६७ अंकले घटेर दुई हजार सात सय दशमलव ८९ अंकमा खुम्चिएको नेप्से अन्तिम कारोबार दिनसम्म आइपुग्दा दुई हजार सात सय ३२ दशमलव ५१ अंकमा सीमित हुन पुगेको छ ।

यसैगरी सेन्सिटिभ इन्डेक्स पनि पहिलो दिन १५ दशमलव ६२ अंंकले घटेर पाँच सय ११ दशमलव ६६ अंकमा सीमित हुँदा अन्तिम कारोबार दिनसम्म पाँच सय १८ दशमलव ६४ अंकमा सीमित हुन पुगेको छ ।

यो साता नेसनल हाइड्रो पावर कम्पनी, अरुण भ्याली हाइड्रो पावर कम्पनी, नेपाल टेलिकम आदिको बढी रकम कारोबार भएका छन् भने नेसनल हाइड्रो पावर कम्पनी, नेपाल टेलिकम, नबिल बैंक आदिको बढी संख्यामा सेयर किनबेच भएका छन् । यसैगरी बजार पुँजीकरणका आधारमा भने यो साता पनि नेपाल टेलिकम, नबिल बैंक, नेपाल लाइफ इन्स्योरेन्स कम्पनी अगाडि देखिएका छन् ।

प्रतिक्रिया