बुधबार, वैशाख १०, २०८२

महामारी, आर्थिक असुरक्षा र समाधान !

डा. रवीन्द्र पाण्डे २०७८ फागुन ८ गते १४:३७

विश्वभर कोरोना महामारीका कारण चिन्ता, तनाव, डरलगायत मनोवैज्ञानिक समस्या बढेका छन् । यीमध्ये सबैभन्दा ठूलो आर्थिक असुरक्षा हो । बेरोजगार हुनु, व्यवसायबाट विस्थापित हुनु, निम्न ज्यालामा काम गर्नु, कुनै पनि समय कामबाट हट्नुपर्ने अवस्था हुनु, बालबालिकाको स्कुलको शुल्क तिर्न अप्ठ्यारो हुनुलगायत समस्या हुँदाखाने वर्गमा छ भने हुनेखाने वर्गमा त्योभन्दा ठूलो समस्या देखिएका छन् । आफ्नो व्यवसाय ऋणात्मक हुनु, महँगो भाडा तथा स्टाफ खर्च हुनु, कमाइ नहुनु, घरजग्गा भएपनि नगद नहुँदा जीवनयापनमा समस्या देख्नु, त्यसको कारण चिन्ता, तनाव तथा फ्रस्ट्रेसन हुनु र भविष्यमा पहिलेजस्तै कमाइ हुने कुरामा विश्वास नलाग्नु तथा भविष्यप्रति आशावादी नहुनेलगायत मनोवैज्ञानिक समस्या देखापरेका छन् ।

दैनिक काम गरेर खाने ठूलो जनसंख्या लकडाउन हुन्छ कि भनेर त्रासमा रहेका छन् । लकडाउन भयो भने के खाने ? कसरी परिवार पाल्ने ? केटाकेटीको फि कसरी तिर्ने ? बिरामी भए कसरी उपचार गर्ने ? भाडा कसरी तिर्ने ? लगायतका चिन्ता धेरैजनामा छ ।

धेरै देशमा फैलिएको तेस्रो लहर, कोरियामा आएको चौथो लहर तथा इरानमा देखिएको पाँचौं लहरको कारण यो महामारी सधै रहने हो कि भन्ने चिन्ता हरेक वर्गमा विद्यमान छ । विकसित देशमा लकडाउन भए पनि राज्यले जीविका, पढाइ तथा उपचारको ग्यारेन्टी गरेको हुन्छ । हाम्रो सामाजिक असुरक्षा भएको देशमा लकडाउन हुँदा पनि ‘सेल्फी राहत’ बाहेक केही प्राप्त नहुने हुँदा चिन्ताको ग्राफ उकालो लागिरहेको हो ।

महामारीको अबधिमा सरकारले स्थानीय निकायबाट हुँदा खाने वर्गलाई कम्तिमा महिनाको ५० किलो चामल, ५ किलो दाल, १० हजार नगद, शिक्षा र स्वास्थ्य निशुल्क गर्ने हो भने यो अवस्था आउने थिएन । अहिले जुन बजेट बालुवामा खन्याइएको छ, त्यसलाई व्यवस्थापन गर्ने हो भने राहत दिन सरकारलाई कुनै अप्ठ्यारो पर्दैन । यसमा सरकार जनताप्रति जिम्मेवार भए पुग्छ ।

हामी आम नागरिकले यी तथ्य आत्मसात गर्नु जरुरी छ

  • हरेक कुराको आयु हुन्छ । यो महामारीको पनि आयु छ । १-२ वर्षपछि महामारी सकिन्छ ।
  • खोप अभियान चलिरहेको छ । खोप लगाएपछि अपवाद बाहेक कोभिड सरेपनि गम्भीर हुने / मृत्यु हुने हुँदैन ।
  • छिमेकी देश तथा अन्य देशमा खोप अभियान तीब्र छ । त्यहाँबाट नेपाल आउने व्यक्ति खोप लगाएर आउँछन् । जसको कारण पहिले जस्तो संक्रमण सर्दैन ।
  • दोस्रो लहरमा लाखौँ व्यक्ति संक्रमण भएका छन् । ती मध्ये धेरैलाई थाहा नभई कोरोना निको भएर एन्टिबोडी बिकास भएको छ । खोप लगाएका तीसौं लाख व्यक्तिमा पनि एन्टिबोडी बिकास भएको छ । यी व्यक्तिलाई कोभिड लागेपनि सामान्य रुपमा निको हुन्छ ।
  • दोस्रो लहरमा हाम्रा स्वास्थ्य संरचना धेरै बलिया भएका छन् । अक्सिजन नपाएर मृत्यु हुने अवस्था अब हुने छैन ।
  • मास्क, भौतिक दुरी र हातको सफाइमा ध्यान दिए संक्रमण सर्दैन ।
  • महामारीको समयमा अनपेक्षित कुरा धेरै हुन्छन् । बिकसित देशमा पनि हाम्रो देशमा भन्दा धेरै व्यक्तिको निधन भएको छ । तसर्थ जहाँ बसेपनि जोखिम हुनसक्छ ।
  • अर्को वर्षदेखि खोपको कारण कोरोना सामान्य रुघाखोकीजस्तो हुनसक्छ ।
  • त्यसपछि हाम्रो काम, कमाइ तथा आर्थिक गतिबिधि पहिलेभन्दा सुदृध हुन्छ । हामीले मेहेनत गर्यौं भने यो महामारीमा भएको घाटा ६ महिनामै हट्नेछ । त्यसपछि हामीले पहिलेभन्दा उन्नत जीवन पाउनेछौं ।
  • महामारीले संसारमै हरेक मानिसलाई घर वा आफ्नो देशमा कैद गरेको छ । महामारी कमजोर भएपछि भ्रमणमा निस्किने लहर चल्छ । हाम्रो देशमा पनि लाखौँ पर्यटक आउँछन् । पर्यटन क्षेत्र बलियो हुँदा रोजगारी तथा कमाइ बढ्छ ।
  • अहिले कमाइ कम भएको हुँदा हाम्रो क्रय शक्ति कम भएको छ । १ वर्षपछि हाम्रो रोजगारी तथा व्यवसाय चल्नेछ । आम नागरिकको कमाइ भएपछि खर्च गर्नेछन । त्यसपछि हाम्रा हरेक व्यवसाय चल्नेछन् ।
  • कोठामै कैद भएर अनलाइन पढ्नुपर्ने बाध्यता अन्त्य हुनेछ ।
  • विद्यार्थीको लागि बिदेशमा पढ्ने अवसर प्राप्त हुनेछ ।
  • धेरै देशलाई कामदारको खाँचो पर्नेछ । तसर्थ बैदेशिक रोजगारी बढ्नेछ ।
  • महामारीले कृषि, पशुपालन आदिलाई राम्रो पेशाको रुपमा चिनाएको छ । लाखौँ युवा आफ्नै देशमा स्वरोजगारमा लाग्नेछन् ।
  • नागरिकको कमाइ भएपछि बन्द भएका व्यवसाय पहिलेभन्दा राम्रोसंग चल्नेछन् ।
  • यो समयमा हामीले उच्च मनोबलको साथ जीवन संचालन गर्न सक्यौं भने अर्को वर्षदेखि हाम्रा तनाब, चिन्ता तथा असुरक्षा हट्नेछन् । त्यो बेलासम्म हामी सुरक्षित, धैर्य तथा आशाबादी हुनु जरुरी छ ।
  • अन्त्यमा, सरकारले जनस्वास्थ्यका मापदण्डमा कडाइ गरोस्, खोप भटाभट लगाओस् । तर लकडाउन नगरोस् । लकडाउन गर्ने परिस्थिति रोक्ने काम अहिलेदेखि गरोस् । राहत, सहुलियत र छुटजस्ता नागरिक प्रदत्त अधिकार सुनिश्चित गरोस् । आर्थिक असुरक्षाको चिन्ता हटाउने कार्यक्रम तुरुन्त लागु गरोस् ।

प्रतिक्रिया