शनिबार, वैशाख २७, २०८२

मास्कसम्बन्धी भ्रम निवारण !

डा. रवीन्द्र पाण्डे २०७८ फागुन ११ गते १४:२७

१. मास्कले कसरी कोरोना भाइरसलाई रोक्छ ?
-कोरोना भाइरस ०.०६ देखि ०.१४ माइक्रोनको हुन्छ । एन ९५ मास्कको छिद्र ०.१ देखि ०.३ माइक्रोन हुन्छ भने सर्जिकल मास्कको छिद्र ०.३ देखि १० माइक्रोनको हुन्छ ।
-कोरोना भाइरस आफैं उडेर मास्कमा आउँदैन । संक्रमितले बोल्दा, खोक्दा तथा हाच्छ्यूँ गर्दा थुक/सिँगान/र्यालका साना कणसँग उछिट्टिएर हामीले लगाएको मास्क्मा आउँछ । ती कणको साइज हाम्रो मास्कको छिद्रभन्दा धेरै गुणा ठूला हुन्छन् । बोल्दा/खोक्दा/ हाच्छ्युँ गर्दा आउने ड्रपलेट २० देखि २००० माइक्रोमिटरका हुन्छन् । ठूला ड्रपलेट तुरुन्तै भुइँमा खस्छन् भने साना ड्रपलेट वाष्पीकरण भएर केही सेकेन्डमा उड्छन्
-यदि हामीले डबल मास्क लगायौं भने एउटा मास्कको छिद्र अर्को मास्कले छोप्ने गर्दछ । तसर्थ ड्रपलेटमा रहेको कोरोना भाइरस मास्कभित्र पस्न सक्दैन ।

२. मास्क लगाएपछि कार्बनडाइअक्साइड कसरी मुख बाहिर जान्छ ? हामीले कसरी अक्सिजन प्राप्त गर्छौं ?
-मास्कबाट कार्बनडाइअक्साइड बाहिर जानका लागि कुनै समस्या हुँदैन । कार्बनडाइअक्साइड पार्टिकल ०.०००६५ माइक्रोन र अक्सिजन पार्टिकल ०.०००५ माइक्रोनको हुन्छ । मास्कको छिद्र सास लिने र छोड्ने प्रक्रियाको लागि पर्याप्त साइजको हुन्छ । तसर्थ मास्क लगाएको व्यक्तिले आफूले फालेको कार्बनडाइअक्साइड सास लिनुपर्दैन ।
-जुनसुकै पनि मास्क बानी नपर्ने बेलासम्म सास फेर्न गाह्रो भएजस्तो लाग्छ । बानी परेपछि सहज हुन्छ ।
मास्क सबैभन्दा ठूलो सुरक्षा कवच हो । खोपबाट भित्री र मास्कबाट बाहिरी सुरक्षा घेरा बनायौं भने हामीले संक्रमण भोग्नुपर्दैन । कारणवश संक्रमण भए पनि सिकिस्त हुने वा मृत्यु हुने अवस्था हुँदैन ।

हाम्रा नेता तथा सेलिब्रिटीका मास्क गल्ती :
-मञ्चमा बस्दा मास्क लगाउने तर भाषण गर्दा मास्क खोल्ने (बोल्ने मुखलाई मास्कले छेक्दैन भन्ने उखान नबुझ्ने ।)
-रियालिटी सो वा कुराकानीको समयमा अघिपछि मास्क लगाउने, बोल्ने पालो आउँदा मास्क खोल्ने ।
-डेढ वर्षसम्म पनि मास्क लगाउन नसिकेर कहिले चिउडोमुनि तथा कहिले नाकमुनि मास्क लगाउने ।
-मञ्च वा स्टेजमा बस्दा मास्क छोइरहने/मिलाइरहने ।
-नाकमाथि मास्क लगाए पनि लामखुट्टेको बथान छिर्ने गरी ग्याप राख्ने ।
-कोरोना गार्डको भ्रममा एयर टाइट नहुने मास्क लगाउने ।
-मास्कलाई कहिले खल्तीमा राख्ने, कहिले टेबलमा राख्ने अनि त्यहि मास्क मुखमा लगाउने ।
-बैठकमा चिया, पानी खाने ।
-दिनभर लगाएको मास्क घर पुग्दा खल्तीमा राखेर बेडरुममा पुर्याउने ।
-खल्ती वा ब्यागमा मास्क थुपारेर पटकपटक तिनै मास्क प्रयोग गर्ने ।
-सामूहिक फोटो खिच्दा मास्क खोल्ने ।
-झ्यालढोका बन्द हुने स्टुडियोमा मास्क नलगाई अन्तर्वार्ता दिने ।
-आफन्त, मिल्ने समूह तथा निकट कार्यकर्तासँग मास्क नलगाई घण्टौं बस्ने (कोरोना आफन्तबाट सर्दैन भन्ने भ्रम राख्ने) ।
-आफूले मास्क नलगाउने तर अरुलाई मास्क लगाउने उपदेश दिने ।

प्रतिक्रिया