‘छोरो नभए, मरे नर्क जान्छौ’

१२१ किलोका माला लगाउने शेरबहादुर देउवा, केपी शर्मा ओली र पुष्पकमल दाहालले हरेक वर्ष १२१ भन्दा बढी महिला ‘पुरुष’ लाई जन्म दिनैपर्ने कारण जीवन र मृत्युको दोधारमा पुग्ने गरेको पत्तै पाउँदैनन् । समाजका कथित पुरोहित तथा धर्मगुरुहरूलाई यसरी महिलाको ज्यान जोखिममा परेको मतलबै हुँदैन । उनीहरू त ‘छोरा नभए पिण्ड दिने कोही नभएर पितृहरू नरकमा पर्छन्’ भन्दै हिँड्छन् । पितृलाई छोरीहरूले पनि पिण्ड दिएर तार्न सक्छन् भनेर कहिले भन्दैनन् । त्यसैले अछाममा मात्र होइन काठमाडौंजस्तो ठाउँमा पनि छोरी मात्र भए वंश चल्दैन भन्दै छोरा जन्माउन बाध्य बनाउने गरेका घटना थुप्रै छन् ।
काठमाडौंका एक व्यापारीको बाह्र वर्षीय छोराको दुर्घटनामा मृत्यु भयो । उनको एक छोरा र एक छोरी थिए, छोराको मृत्युपश्चात् ती व्यापारीले ४५ वर्षीया श्रीमतीलाई ‘कि छोरा पाऊ, कि म अर्को विवाह गर्छु’ भनेर विकल्प दिएछन् । ती महिला अनेक औषधि गरेर गर्भवती भइन् । अझ भ्रूण छोरी भए गर्भपतन गराउनुपर्ने परिवारको योजना रहेछ । धन्न भ्रूण छोरा नै रहेछ तर गर्भवतीलाई बेस्सरी बान्ता हुने, उच्च रक्तचाप तथा जीउ सुनिनाले ८ महिनामै शल्यक्रिया गरेर बच्चा निकालेछन् । आमाको ज्यान खतरामा पारेर छोरा पाएकोमा ५० वर्षे बाबु दंग परेका थिए । यस घटनाबाट परिवारकै २२ वर्षीया छोरी अपमानित भएको महसुस गरी अमेरिका गइन् । अहिले उनी बाबुसँग त्यति बोल्दिनन् ।
हजुरआमाको दबाबले पनि बाबाले छोरा पाउन आमालाई कर गरेकाले, हजुरआमाको पनि वास्ता गर्दिनन् । यदि उक्त परिवारमा छोरीको मृत्यु भएको भए, श्रीमान्ले श्रीमतीलाई उमेर ढल्किसकेपछि पनि ज्यानै खतरामा पार्दै छोरो जन्माउन बाध्य पार्थे होलान् र ? ती छोरी सायद नेपाल फर्किन्नन् अब । आमाको जिन्दगी खतरामा पारेर वंश चलाउन छोरा नै चाहिने बाबु र हजुरआमासँग उनको ठूलो गुनासो छ । बिचरा तिनले पनि के गरून्, ‘छोरो नभए मरे नर्क जान्छौ’ भनेर पण्डितले भनेपछि, त्यसैको विश्वासमा परे होलान् ।
ती महिलाले पनि छोरा नभए जिन्दगी नै खतम हुन्छ भन्ने ठानिन् होला । काठमाडौंमै यस्तो छ, सुदूरपश्चिममा त के कुरा भयो र ? सायद पण्डितहरू नै श्रीमतीले छोरी पाए, जसरी पनि छोरा नै चाहिन्छ भन्छन् अझै पनि । जबसम्म सम्पूर्ण समाजले ‘छोरीलाई अंश र वंशको रक्षा गर्न सक्षम छिन्’ भन्दैन तबसम्म महिलाले छोराका लागि जीवन नै गुमाउने अवस्थाको अन्त्य हुँदैन ।
प्रतिक्रिया