श्रमिक अस्पताल/शिक्षक अस्पताल स्थापना गर्ने सरकारको ‘मूर्ख’ निर्णय

शिक्षक/श्रमिक अस्पताल खोल्ने सरकारी कार्यक्रम सुनेर हाँस्नु कि रुनु ! सरकारले शिक्षकका/श्रमिक लागि भिन्नै अस्पतालको औचित्य पुष्टि गर्न सक्ने आधार छैन । किन भिन्नै अस्पताल ? अन्य अस्पतालमा श्रमिक/शिक्षकहरूको उपचार हुँदैन र ?
स्वास्थ्य सेवामा समुदायको राम्रो पहुँच भएका विश्वभरिका केही प्रमुख प्रणाली हेर्ने हो भने शिक्षकका लागि भिन्नै अस्पताल चाहिन्न । बेलायतमा राष्ट्रिय स्वास्थ्य सेवाअन्तर्गत सबै नागरिकले स्वास्थ्य सेवा सहजै पाउँछन् । युरोपका प्रायः देशमा स्वास्थ्य बिमा प्रणाली छ, जुन निकै प्रभावकारी भएकाले धेरैजसो समस्याको रोकथाम स्थानीयस्तरमै हुन्छ । नेपालमा बिमा प्रणाली राम्रै भए पनि सबैको पहुँचमा छैन । बिमाप्रति हाम्रो विश्वास पनि छैन । यस्तोमा स्वास्थ्य प्रणालीलाई समतामूलक बनाउन गाह्रो छ ।
स्वास्थ्य सेवाको विषय उठ्दा, समानताको हिसाबले पनि यसको सबैभन्दा बढी आवश्यकता दुर्गम, पिछडिएको समुदायलाई छ । उनीहरूबारे किन नसोच्ने ? शिक्षक/श्रमिकलाई विशेष सहुलियतसहित देशभरिका सबै अस्पतालमा उपचारको व्यवस्था गर्न सकिन्छ र यो तरिका शिक्षकका लागि मात्र खोलेको अस्पतालको भन्दा कैयौं गुणा प्रभावकारी हुन्छ । जुम्लामा कार्यरत श्रमिक/शिक्षकलाई ‘कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान’ सजिलो कि चितवन आएर उपचार गराउनु सहज ? ताप्लेजुङको शिक्षक/श्रमिकलाई धरानको बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा सजिलो कि चितवन ?
सामाजिक न्याय तथा सुशासनमा आधारित स्वास्थ्य प्रणालीको विकास र विस्तार गर्दै नागरिकका लागि गुणस्तरीय स्वास्थ्य सेवाको पहुँच र उपयोग सुनिश्चित गर्ने राष्ट्रिय लक्ष्य यसरी बिनाअध्ययन गरिने निर्णयहरूबाट कसरी पूरा होला ? भोलि गैरसरकारी संस्थामा काम गर्ने, बैंकका कर्मचारी, किसान, दलितलगायत सबैका लागि पनि भिन्नै अस्पताल खोल्ने ? भएका अस्पतालको यस्तो नाजुक हालत छ, नयाँ अस्पताल खोलेर के गर्ने ?
प्रतिक्रिया