अस्त्र-शस्त्रका आविष्कारक भोलेनाथ !
एकातिर मस्तमौला देखिने भगवान् शिवजी भाषा, संगीत, नृत्य, योग आदिको जननीसमेत हुन् ।

आज महाशिवरात्रि । हिन्दू धर्मावलम्बीको ठूलो पर्व । अर्थात् शिवजीको सुहागरात (हनिमुन) को दिन हो । धार्मिक दृष्टिकोणबाट शिवलाई ईश्वररुपी डरलाग्दो रौद्र वा कालको रुप मानी डरले मान्ने एकथरि र अर्कोथरि शिवको व्रत, पूजाआजा गर्दा विविध लाभको चाहना राख्ने मानिसहरु जस्तो म शिवजीलाई मान्दिनँ ।
मेरो नजरमा एउटा कालखण्डमा शिव महानायक थिए । जसले त्यो कालखण्डमा लोककल्याणकारी कामका लागि ठूलो योगदान दिएका थिए । त्यो बेला उनी असुर र सूर दुवै वर्गले मान्ने श्रद्धाका केन्द्र थिए ।
पूराणको सबै कुरा म मान्दिनँ । म पूराणलाई त्यो प्राचीन कालखण्डको एउटा लिखित दस्ताबेज वा इतिहासको शोध लागि चाहिने एउटा सामग्रीका रुपमा मात्र हेर्छु । शिवलाई हेर्दा मलाई अचम्म लाग्छ । त्यो काल खण्डको महानायकको अवस्था साधारण मानिसको जस्तो द्वैध चरित्र वा भावको देख्छु । एकतिर प्रथम श्रीमती (सतिदेवी) को देहावसान भएपछि कैयौं वर्ष उनी दु:खद अवस्थामा वियोगमा रहे भने अर्को तिर ८०/८५ वर्षको उमेरमा १६/१७ वर्षको सानो केटी (पार्वती) को इच्छालाई पूरा गर्न उनीसँग बिहे गर्न पुगे र बिहेपछि कैयौं वर्षसम्म पार्वतीसँग कामवासनामा रमाएर गुप्तबास बसे । त्यो अवधिमा पनि उनी कामशास्त्र निर्माण गर्न पुग्छन् । त्यस्तै त्यत्रो योद्धा र महानायक हुँदा पनि उनि अत्यन्तै सरल देखिन्छन् । त्यसैले उनको नाम भोला पनि हो ।
सर्व शक्तिमान भएर पनि भाङ, धतुरो नशा लिने भोलेनाथको साधारण मानिसहरु जस्तो बानी व्यवहोरा देखिन्छ । उनले त्यो बेला अस्त्र शस्त्रको निर्माण वा आविष्कार गरेको पनि पाइन्छ । उनलाई खुसी पारे आफूसँग रहेको जे पनि दिन उनी तयार देखिन्छन् । एकातिर मस्त मौला देखिने उनी भाषा, संगीत, नृत्य, योग आदिको जननी पनि हुन् । उनले त्यो कालखण्डमा धेरै कुराहरु तत्कालीन समाजलाई दिएर उद्धार गरेको देखिन्छ । शिवरात्रिका अवसरमा सबैमा शुभकामना…।
प्रतिक्रिया