झन्डै ६४ अंकले नेप्से घट्दा ३ अर्ब ६२ करोडको कारोबार, सबै सूचक राताम्मे

काठमाडौं । एमसीसी पास भएपछि लगातार घट्दै आएको नेप्सेमा साताको चौथो कारोबार दिन बुधबार पनि भीषण पहिरो गएको छ । नेप्से आज ६३ दशमलव ९८ अंकले घटेर २५ सय ४६ दशमलव ६० अंकमा पुग्दा सेन्सिटिभ इन्डेक्स पनि ११ दशमलव ५२ अंकले घटेर चार सय ८८ दशमलव ६९ अंकमा पुगेको छ ।
दुई सय २८ कम्पनीको ५५ हजार दुई सय १२ पटकको कारोबारमा ७६ लाख ५२ हजार दुई सय चार कित्ता सेयर खरिद–बिक्री भएको छ । जसमध्ये कुल कारोबार रकम तीन अर्ब ६२ करोड ११ लाख ४३ हजार नौ सय ७९ रुपैयाँ पुगेको छ ।
नेप्सेमा आज १३ समूहको कारोबार भएकामा सबै समूहको सूचक घटेर नेप्से पूरै रातो भएको छ । सोमध्ये वाणिज्य बैंक समूहको सूचक २७ दशमलव नौ अंकले घटेर १६ सय ५१ दशमलव ३६ अंकमा पुग्दा जलविद्युत् समूहको सूचक पनि एक सय नौ दशमलव आठ अंकले घटेर ३१ सय चार दशमलव २५ अंकमा पुगेको छ ।
निर्जीवन बिमा समूहको सूचक पनि तीन सय २३ दशमलव १८ अंकले घटेर ११ हजार तीन सय ५६ दशमलव ४३ अंंकमा पुग्दा जीवन बिमा समूहको सूचक पनि चार सय ५३ दशमलव ५६ अंकले घटेर १३ हजार तीन सय ७१ दशमलव नौ अंकमा पुगेको छ । यीबाहेक विकास बैंक, फाइनान्स, ट्रेडिङ, होटेल तथा पर्यटन, उत्पादनमूलक, अन्य, लघुवित्त, लगानी र सामूहिक लगानी कोष समूहहरूको सूचक पनि घटेका छन् ।
नेप्सेमा आज रिलायन्स लाइफ इन्स्योरेन्स कम्पनीको प्रतिकित्ता सेयर मूल्य चार प्रतिशतले बढेर पाँच सय ७२ रुपैयाँ अन्तिम मूल्यमा प्रतिकित्ता सेयर कारोबार हुँदा हिमालयन जनरल इन्स्योरेन्स कम्पनीको प्रतिकित्ता सेयर मूल्य आठ दशमलव २६ प्रतिशतले घटेर ६ सय ३१ रुपैयाँ अन्तिम मूल्यमा प्रतिकित्ता सेयर कारोबार भएको छ ।
यसैगरी आज नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको प्रतिकित्ता ११ सय ८४ रुपैयाँ ९० पैसा अन्तिम मूल्यमा १६ करोड १८ लाख ९८ हजार तीन सय २१ रुपैयाँ ७० पैसाको सेयर कारोबार भएको छ । यो आज भएका कम्पनीहरूको कारोबार रकममध्येमा सबैभन्दा बढी हो ।
प्रतिक्रिया