वीरु लामा नरहेपछि…

करिब ४६ वर्ष अघि हाम्रो चिनजान भएको थियो। जिन्सको पेन्ट र सर्ट लाएका, सर्टको बाहुलामा नेपाली कांग्रेसको झण्डा लेखाएका, कम अग्लो, थोरै बोल्ने उनले आफूलाई मिजोरमका नेपाली भन्थे। पूर्णिया, बिहारमा रहेका नेपाली काँग्रेसको भूमिगत क्याम्पमा हामी भेटेका थियौं। यसको केही महिनापछि पुनः फारबिशगञ्जको बंगाली टोलमा रहेको नेपाली काँग्रेसको अफिसमा भेट्दा उनी पूर्व परिचित ‘हिरा लामा’ को सट्टा अत्यन्तै मिलनसार वीरु लामा भइसकेका थिए।
नेपालगञ्जमा जन्मिएका, नेपाल पुलिसमा कार्यरत एक नातेदारका कारण विराटनगर रानीमा बस्ने क्रममा प्रवासमा रहेका नेपाली कांग्रेसका सम्पर्कमा आएका, नेपाली कांग्रेसका सशत्र कारवाहीका कारण फेरी प्रवास भारत लागेका वीरु लामा ‘विमान अपहरण काण्ड’ मा रकम लिई गिरिजा प्रसाद कोइराला फारबिशगञ्जबाट दार्जिलिंग लाग्नु हुदाँ जिपका चालक थिए-वीरु। यसपछि भारत सरकारबाट आपराधिक मुद्दा चलाइएपछि उनी मिजोरम पुगेका थिए। यसपछि उनी पक्राउ परेर बिहारको जेलमा राखिए।
बि.स. २०३७ सालको जनमतसंग्रह पछि उनी प्रवासिएका अन्य नेपाली कांग्रेसका नेता कार्यकर्तासँगै नेपाल भित्रिएका थिए। अनवरत् गिरिजा प्रसाद कोइरालासँग आवद्ध रहे-सबैले उनलाई गिरिजा बाबुका मोटर चालक भनेर चिन्थे। यसमा उनलाई कहिल्यै कुनै खेद रहेन। उनी नेपाली कांग्रेसका अविचलित कार्यकर्ता रहे। कहिल्यै कुनै लोभ राखेनन्।
यिनै वीरु लामाको हिजो काठमाडौ, सानेपा स्थित निवासमा देहावसान भयो। उनी लामो समयदेखि बिरामी थिए। केही महिना अघि म, मेरी श्रीमतीका साथ भेट्न बयोधा अस्पताल गएका थियौं। “म छिटो नै निको भएर आउने छु”-भनेका थिए। मेरी श्रीमती सरूले कयौं वर्षसम्म वीरु भाईलाई भाई टिका लगाएकी थिईन । हिजो मेरा मित्र वीरु रहेनन्।
उनी नरहेको यस घडीमा मलाई विशेषतः अरमीना लामाको सम्झना भइरहेको छ। जसले एक समय वीरुलाई अमूल्य माया गरेकी थिईन । उनका छोरा, छोरी र सुषमाका प्रति मेरो हार्दिक समवेदना छ। वीरुको आत्मालाई शान्ति मिलोस्। म आज सम्झिरहेको छु-कति राम्रा दिन थिए ति – जहाँ म, मेरी प्रेमिका सरू, वीरु, अरमीना, अनुराधा कोईराला, शैलजा दिदी, दिल बहादुर घर्ती, मुक्ता आचार्य-हामीसँगै बस्दथ्यौ। जीवनलाई बुन्दथ्यौ !
प्रतिक्रिया