बुधबार, वैशाख १०, २०८२

विश्व राजनीति र आर्थिक सामाजिक परिवर्तन

मोती चामलिङ २०७८ फागुन २६ गते ११:११

दोश्रो विश्वयुद्ध पछि यस्ता विनाशकारी महायुद्ध संसारले झेल्न नपरोस् भनेर संयुक्त राष्ट्रसंघको गठन त भयो परन्तु विश्व राजनीति दुई ध्रुवमा गहिरिएर गयो। पुँजीवादी राष्ट्रवाद र साम्यवादी राजनीति कोर्सको होडबाजीले संसारलाई राजनीति रुपले दुई खेमामा विभाजित गर्यो । पुँजीवादी राजनीति व्यवस्थाले उदार लोकतन्त्रको हवाला दिँदै आफ्नो वर्चस्व फैलाउन कुनै कसर बाँकी राखेन भने साम्यवादी राजनीति पक्षधरहरुले पनि आफ्नो सक्रियतालाई अरु तेज बनायो। पुँजीवादी खेमालाई अमेरिकाले वैश्विक नेतृत्व गर्यो । साम्यवादी खेमालाई सोभियत संघले ।

दुई भिन्दाभिन्नै विश्व राजनीति सिद्वान्तलाई विश्वका कैयौं देशहरुले अनुकरण मात्र गरेको होइन कि अंगीकार गर्नसमेत पछि परेनन् । पुँजीवादी खेमा र साम्यवादी खेमाका प्रतिस्पर्धाले उत्कर्ष चुमेपछि यो होडवाजी अदृश्य द्वन्द्वमा परिणत भयो। यो स्थिति दृश्य र प्रत्यक्ष हुन गएपछि सतहमा देखा पर्यो। सन १९४५ देखि १९९० सम्म करिब आधा शताब्दी विश्व राजनीतिमा देखापरेको चिसोपनाले अनेक उतार चढाव ल्यायो । यही परिधिभित्रको वैश्विक राजनीति मतभेदलाई शीतयुद्ध भनिएको हो । सन् १९९१ मा जब सोभियत संघको विघटन भयो तब भने शीतयुद्ध अन्त्यको अनुभूती विश्वका राजनीतिशास्त्रीहरुले व्यक्त गरे। परन्तु त्यो विश्वास र अड्कल गलत थियो भन्ने वर्तमान परिस्थितिले उजागर गरेको छ ।

सोभियत संघ विघटन भए पनि रुसले पुरानै सोभियत गणराज्यहरुको एकता पहलकदमीमा खेलिरहेको भूमिकाले संसार शीतयुद्धदेखि प्रत्यक्ष विश्वयुद्धतिर अग्रसर तथा उन्मुख भएको स्पष्ट भएको छ ।

शीतयुद्धपछिको तीन दशकभित्र रुसले गरेको आणविक शक्तिको विकास अमेरिका र अन्य देशहरुको तुलनामा अथाह र अकल्पनीय लाग्छ । आकाश, जमिन र समुद्र गरी तीनै तहदेखि ११ हजार किमि टाढासम्म प्रक्षेपण गर्ने परमाणु बमको आविष्कारले रुस विश्वको एकमात्र सामरिक शक्तिशाली देशको स्थानमा पुर्याएको छ । संयुक्त राष्ट्रसंघमा एकपक्षीय दलिल गरिरहेका अमेरिका र युरोपेली देशहरु यतिबेला महाशक्ति रुसको अगाडि गरुडको छायामा होस गुमाएका सर्पझैं लाटाकिटा साबित भएका छन् ।

पारमाणाविक प्रतिस्पर्धामा निकै तल छोडिएका अमेरिका र युरोपेली देशहरु यतिबेला कुण्ठाका सिकार भएका छन् । विश्व सामरिक एकाधिकारको लगाम अमेरिकाको हातबाट फुत्किएर एकाएक रुसको हातमा पुगेको छ । आगामी दिन विश्व भूराजनीतिको प्रतिबिम्ब पूर्ण रुपले बदलिने अवस्थामा पुगेको छ । यसको प्रत्यक्ष प्रभावले नेपाललगायत दर्जनौं विकासोन्मुख देशहरुमा राजनीति परिवर्तनको लहर आउनेछ । युक्रेन र रुसको द्वन्द्वले विश्वकै राजनीतिमा हलचल ल्याएको मात्र होइन कि आर्थिक र सामाजिक ढाँचामा समेत परिवर्तन ल्याउने निश्चितता गरेको छ ।

प्रतिक्रिया