कुमारी र कुमारित्वको कुरा

आज महिलाको योनिबारे प्रचलित ज्ञान र विश्वासबारे कुरा गरम् । यौन सम्पर्क गर्दै नगरेकी महिलाको योनिको मुखमा झिल्ली हुन्छ । अर्थात् योनिलाई एउटा जालीले छोपेको हुन्छ । यसलाई अंग्रेजीमा ‘हाइमेन’ भन्दछन् । अब म यहाँ यही हाइमेन शब्द प्रयोग गर्छु ।
हाइमेनबारे सबैभन्दा चलेको एउटा ज्ञान वा विश्वास के हो भने महिलाको योनिमा ‘प्वाल नपरिसकेको‘ हाइमेन हुनु भनेको महिला ‘कन्या‘ नै रहेको प्रमाण हो, ‘कुमारी‘ हुनुको सूचक हो । त्यसैले समाजमा कुनै महिला कन्या हो कि होइन भनेर पत्ता लगाउनेहरुले महिलाको योनिको मुखलाई हाइमेनले छोपेको छ कि हाइमेनमा प्वाल परेको छ भनेर अझै पनि अस्पतालका थिएटरमा योनि जाँच गरिन्छ । यो जाँच गरिने सिद्धान्तअनुसार, ‘महिलाको योनिको मुखमा योनिलाई छोप्ने जाली हुन्छ । पहिलोपटक पुरुषको लिंग योनिद्वारबाट प्रवेश गराउँदा यो जाली फुट्छ र रगत बग्दछ ।‘ यसैको थप विस्तार गर्ने सामाजिक मान्यताले भन्छ, ‘यो जालीले योनि नढाकेको महिला कन्या होइन, कुमारी होइन । यो नै महिलाले पुरुषसँग यौन सम्पर्क गरेको अकाट्य प्रमाण हो ।‘
वास्तवमा हाइमेन भनेको आमाको गर्भमा भ्रुणको विकास भएर शरीरका अंग बन्दै जाँदा योनिको मुखैमा अवशेषको रुपमा बाँकी रहेर अल्झेको तन्तु हो । खासमा हाइमेन विभिन्न आकारमा योनिको मुखमा टाँसिएर रहेको हुन्छ: पूरै गोलो र औँठी अथवा सेल रोटी जस्तो बिच्चमा प्वाल भएको वा आधी गोलो चन्द्र आकारमा बसेको वा अलिअलि घेरामात्र बसेको वा खासै हुँदै नहुन पनि सक्छ । एकदमै कम महिलामा मात्र यो योनिको मुखभरि जालो जस्तो बनेर रहेको हुनसक्छ तर यस्तो खाले पूरै मुख थुनिएको जालो सित्तिमित्ति हुन्न ।
यस्ता जाली भए पनि धेरैले विश्वास गरे जस्तै यो कुनै बस्तुले प्वाल पार्ने खाले माकुराको जालो जस्तो बस्तु हुँदै होइन । बरु यो कपाल बाँध्ने तन्किने रबर जस्तो हुन्छ । हाइमेन तन्किने, रगत आउने, टुक्रिने एकदमै सामान्य प्रक्रिया हो । खेल्दा, कडा खाले व्यायाम गर्दा, योगा गर्दा, साइकल चलाउँदा, दौडधुप गर्दा जिम्न्यास्टिक गर्दा हाइमेन टुक्रिन सक्छ र सामान्य रगत बग्न सक्छ ।
यति कुरा गरिसकेपछि समाजमा चलेको सबैभन्दा वाहियात कुरो के हो भने योनि जाँचेर, हाइमेन हेरेर कुनै महिलालाई कन्या वा कुमारी हो कि होइन पक्कापक्की गर्न सकिन्छ । चिकित्साशास्त्रमा अभ्यास गरिएको यो भन्दा भ्रमपूर्ण र अमानवीय कार्य अरु कुनै सायदै होला ! यो जाँचले दिने भ्रम र महिलाको सम्मानमा हुने क्षतिको न नापन गर्न सकिन्छ न त क्षतिपूर्ति । यो अक्षम्य अपराध र चरम प्रकृतिको महिला हिंसा हो । यो सति प्रथा जस्तै अमानवीय कार्य हो ।
कुनै महिला कन्या वा कुमारी भए नभएको पत्ता लगाउने सबैभन्दा विश्वासिलो र एकमात्र वैज्ञानिक तरिका भनेको महिला स्वयम्लाई सोध्ने हो । तर महिलाले जवाफ दिनु नदिनु उनको अधिकारको कुरा हो ।
आज यति लेख्न मन लागेको कारण अहिले मुलुककै ठुला भनिने अखबारले समाजमा गलत भाष्य स्थापित गर्न खोज्दैछन् र यसै मेसोमा एउटा शब्द निर्माण गरेका छन्: ‘कन्याजाली‘ अर्थात् कन्यामा मात्र हुने जाली । ‘कन्या‘ वा ‘कुमारी‘ हामीमा स्थापित एउटा अवधारणा हो जसको अन्तर्निहित अर्थ हामी सबैलाई थाहा छ ।
प्यारा छोरी, नानीहरु ! ज्ञानी महिला पुरुषहरु !! यस्ता गलत मान्यता र विश्वासमा टिकेर बनाइएका भाष्यको खुलेर विरोध गरौँ ।
टिप्पणी :
केदार शर्मा : मलाई पनि ‘कन्या जाली‘ जस्तो विविधतायुक्त ‘अवधारणा’ को सामाजिक/कानुनी महत्त्व बढाउँदै लगिएकामा चिन्ता लागिरहेको छ । तपाईँले लेख्नुभयो, सलाम !
घिमरे वसन्त : चिकित्सकले त कन्याजालि च्यातिएको छ या छैन मात्रै भन्दिन्छ नि, यसको कन्यालाजि च्यातिएकोले यो नकुमारी र नच्यातिएकोले यो कुमारी हो भनेर भनेर भन्दैन, कन्याजालि च्यातिने र नच्यातिने कारणहरू पनि त्यहा(जाँच पेपरमा) उल्लेख भएका हुन्छन भने कन्याजालि जाँचले मात्र यससँग सम्बन्धित मुद्दामा प्रमाणको भारलाई प्राथमिकता दिई न्याय दिलाउन खोज्नु पक्कै पनि वर्तमानमा एउटा गहन छलफलको विषय हो …!
सूर्य न्यौपाने : मानव जीवन वनाउने र यो श्रृष्टीलाई अड्याउने विषयसग खुलेरै बहस गरेको राम्रो पनि हो !
भानु भट्टराई : हिम्मतिलो लेखाइ । खोज र अनुसन्धानमा अरुलाई पनि प्रेरणा मिल्नेछ ।
नन्दकिशोर : नारी को कुमारी तत्त्व, खोज्ने पुरुषहरूको कुमार रै रहेका छन् भनिनेको प्रमाण कसरी यो वैज्ञानिक
युग मा प्रमाणित हुन्छ ।
विष्णु भट्टराई : यो सतिप्रथाभन्दा जघन्य हिंसाको वकालत गर्ने नरपिशाचहरुको अर्थात् नरपशुहरुको भाष्य हो तर चिकित्साशास्र किन यसरी अन्धो भएको हँ ? बोलुन् डा. हरु ।
मन पर्यो ।
प्रदीपकुमार मैनाली : बलात्कारको अभियोगमा हाइमन हेर्न बन्देज होस् भन्ने । किनकि आरोपित खेल्दा, साइकल चलाउदा पनि हाइमन च्यात्तिएको अथवा हुँदै नभएको पनि हुन सक्ने भयो । अथवा आरोपित पुरुष भन्दा पहिल्यै अरु पुरुष बाट छेदन भएको हुन पनि सक्ने भयो ।
सोधेर नै छानबिन गरियोस् न कि हाइमन छ कि छैन भनेर । त्यसरी हेरिनु पनि अपमान हो ।
लक्ष्मी भण्डारी : महिलाको कुमारित्व एउटा झिल्लीमा अडेको छ भने पुरूषको चै केले मापन गर्छ ऊ कुमार हो कि हैन ?
गज्जब छ दुनियाँ, गज्जब छ पितृसत्तात्मक सोंच, नारी कति निरिह, कति लाचार, जे पनि सहनुपर्ने, धिक्कार छ हे समाज !
प्रतिक्रिया