सती प्रथाको कुरा !

सती भनेकी हाम्रो ‘परम्परागत पुरातन’ मान्यताअनुसार आफ्नो लोग्नेबाहेक अरु पुरुषलाई ‘परपुरुष’ मानी परपुरुषलाई मनमा समेत नकल्पिने, ‘सम्बन्ध’ नराख्ने महिला हुन् । यस्ती महिलालाई परम्परागत पुरातन अवधारणाअनुसार पतिव्रता, साध्वी भनिन्छ। यस्ताले दिएको सराप तुरुन्तै र जस्ताको तस्तै लाग्दछ भन्ने विश्वास छ ।
अर्को कुरा पनि छ । सती नाम गरेकी पौराणिक नारी थिइन् । उनी दक्षप्रजाप्रतिकी छोरी थिइन् । उनी महादेवकी पत्नी थिइन् । पतिव्रताका लागि उनी कहलिएकी स्त्री थिइन् । अझै अर्को कुरो छ । हिन्दु पौराणिक कथा पढ्दा सती भनेर देवी दुर्गालाई पनि पुकारेको भेटिन्छ ।
यति कुरा गरेपछि ‘सतीले सरापेको‘ कुरा पनि गरम् न त ।
यो देशमा कसैले गतिलो काम गर्न खोजे पनि त्यो सफल हुन्न किनभने यो ‘सतीले सरापेको देश‘ हो भन्ने गरिन्छ ।
ती सती को थिइन् त? माथिका प्रसंगका सती चाहिँ थिइनन् उनी !
को थिइन् त उसो भए ती सती ? किन सरापेकी थिइन् ? यसबारे चर्चा गरम् न त आज ।
यो कुरो चाइँ पौराणिक कालको त हुँदै होइन, उहिल्यैको पनि होइन । नेपाल खाल्टोमा मल्ल राजाले शासन गर्दाको बखत काजी भीम मल्ल तिब्बतसँग लडाइँ गर्न गए । तिब्बत भनेको ऊ बेलाको भोट राज्य । लडाइँ जिते । नेपालको नाम उच्च राखे । काजी भीम मल्ल फर्कँदै थिए । उनले वास्तवमा एउटा व्यापार सन्धि गरेर फर्केका थिए जो नेपालको समृद्धिको लागि निकै महत्त्वपूर्ण थियो । तर दरबारमा उनका विरोधी भारदारहरुले उनीविरुद्ध षड्यन्त्र गरे र राजालाई भीम मल्लले नेपाललाई हानि हुने अपराधपूर्ण सम्झौता गरेर फर्के भनेर उल्टो कुरो लगाए । रिसले चुर भएका राजाले आफ्ना विश्वासीलाई त्यो देशद्रोही गद्दार भीम मल्लको तुरुन्तै टाउको गिँडी दिनू भन्ने आदेश दिए । राजाज्ञा पाएकाले काजी मल्ललाई बाटैमा मारिदिए ।
भोटमाथि विजय प्राप्त गरेर फर्केका सिपाहीहरूले दरबारमा पुगेर नेपालको आर्थिक विकासमा चीरकालसम्म भलो र फाइदा हुने लिखित सम्झौता गरेको सत्य र साँचो व्यहोरा राजालाई सुनाए ।
त्यो बेला नेपालमा सती प्रथा हटिसकेको थिएन । काजी भीम मल्लकी पत्नी सती जानुपर्ने भयो । उनलाई चिताको आगोमा हेल्नुभन्दा अघि नेपालको हित हुने काम गर्दा गर्दै पनि गिँडिनुपरेका आफ्ना पतिलाई सम्झेर रुँदै सराप दिइन्, ‘अब यो नेपाल राज्यमा देशको भलो चिताउने कसैको भलो नहोस् ।’ हुन् पनि यो देशाँ यस्तै भैरा’छ !
प्रतिक्रिया