फगुवाको आगमन
सुनील सापकोटा
२०७८ चैत १ गते १३:०१

हिजोआज कहिले चिसो
कहिले तातो हावाले
फगुवा नजिक आउँने
संकेत गर्दै छ
आमगाछीमा मञ्जर लाग्यो
खेतको सरसौं पहेँलो भयो
कोइलीको बोली सुनिन थाल्यो
गर्मी पनि दिनहुँ चड्न थाल्यो
हिजै दिउँसो पछियाले
कान्छीको खास्टो उढायो
हिजै राति पल्लो गाउँमा
मैथिली फगुवा गीत सुनियो
हिजै बजारमा एउटा हल्ला भयो
जेठी पोइल गएको खबर आयो
आज केटाकेटीहरुले
बाटोमा पानी छ्यापेको देखें
आज चोकमा युवाहरु
नशामा मात्तिएको देखें
आज पधेरोमा युवतीहरु
जिस्किएर पात्तिएको देखें
आज चिया पसलमा
बुढाहरु छिल्लिएको देखें
जताततै वसन्त राग सुनिदै छ
लाग्दैछ फगुवा नजिक आउँदैछ ….।
सम्बन्धित
प्रतिक्रिया