महिलाका लागि प्रविधिमैत्री साक्षरता कक्षा सञ्चालन

काठमाडौं । नवलपरासी बर्दघाट सुस्तापूर्वको गैँडाकोटमा प्रविधिमैत्री साक्षरता अभियान सञ्चालन गरिएको छ । गैँडाकोट २ र ७ मा आजदेखि प्रविधिमैत्री साक्षरता कक्षा सञ्चालन गरिएको हो । महिलालाई साक्षर गराउने उद्देश्यले सञ्चालन गरिएको प्रविधिमैत्री कक्षा तीन महिनासम्म सञ्चालन हुने बताइएको छ ।
गण्डकी प्रदेशको शिक्षा, संस्कृति, विज्ञान प्रविधि तथा सामाजिक विकास मन्त्रालयको सहयोगमा गैँडाकोटस्थित मौलाकाली सामुदायिक सिकाइ केन्द्रले प्रविधिमैत्री कक्षा सञ्चालन गरेको हो । कार्यक्रममा गैँडाकोट ७ का वडाअध्यक्ष चोलनाथ उपाध्यायले कार्यक्रमले महिलालाई साक्षर बन्न र समाजमा अगाडि बढ्न सहयोग गर्ने बताए । वडामा थप प्रविधिमैत्री कक्षा सञ्चालनका लागि वडा कार्यालयले पनि सहयोग गर्न तयार रहेको उनको भनाइ रहेको छ ।
मौलाकाली सामुदायिक सिकाइ केन्द्रका अध्यक्ष कमल पराजुलीले महिलालाई सामाजिक, राजनीतिक र प्रविधिसहित सबै क्षेत्रमा अगाडि बढाउने उद्देश्यले कक्षा सञ्चालन गरिएको बताए । उनले प्रविधिमैत्री साक्षरता कक्षामा सहभागी महिलाहरुलाई मन लगाएर सिक्न र सिकेका कुरालाई व्यवहारमा लागू गर्न पनि आग्रह गरे ।
गैँडाकोट नगरपालिका शिक्षा शाखाका प्रमुख शिक्षा अधिकृत हेमचन्द्र पौडेलले प्रविधिमैत्री शिक्षाले दैनिक जीवनमा सहज हुने बताए । नारायणी सामुदायिक वनका अध्यक्ष दीननाथ त्रिपाठीले शिक्षा जीवनको दियो भएकाले शिक्षाको महत्व बुझ्नुपर्ने स्पस्ट पारे ।
प्रतिक्रिया