पोखरामा महिला अभियान सुरु

काठमाडौं । स्थानीय तहको निर्वाचनको समय घोषणा भए सँगै पोखराका महिलाले ‘नेतृत्वमा महिला अभियान’ लाई तीव्रता दिएका छन् । नारी जागरण अभियान गण्डकीले प्रदेशका विभिन्न जिल्लामा नेतृत्वमा महिला अभियानको सुरुआत गरेको हो ।
देशमा व्यवस्था बद्लिए पनि अवस्था बद्लिन नसकेको र महिलाको अस्तित्व र क्षमतालाई अझै पनि विभिन्न बाहानाबाट पछाडि पार्ने काम भएको जनाउँदै नेतृत्वमा महिला अभियान सुरु गरेको अभियानका संयोजक अञ्जु केसीले बताइन् ।
केसीले भनिन् ‘पितृसतात्मक सामाजिक संरचनाले व्यवस्था बदलियो, तर महिलाप्रतिको धारणा र अवस्था भने बदलिन सकेन अब नेतृत्वमा महिला पुर्याउनका लागि यो अभियाना सुरु गरेका हाैँ । ’ उनले अहिले आवाज उठाउने समय भएकाले पनि आफूहरुले यस विषयमा निरन्तर आवाज उठाउन आउने पुस्तालाई पनि राजनीतिप्रति सकारात्मक दृष्टिकोण बनाउन अभियानले सघाउ पुर्याउने विश्वास व्यक्त गरिन् ।
उनका अनुसार बागलुङबाट सुरुवात भएको यस अभियानमा जिल्लाका राजनीतिक दलका नेता, नागरिक समाज र महिला नेत्रीबीच अन्तक्रिया हुनेछ । पहिलो चरणमा प्रदेश र विस्तारै देशव्यापी बनाउँदै लैजाने केसीले बताइन् । महिला आन्दोलनको थालनीको रुपमा १९८९ असार ३१ मा योगमाया न्यौपानेले गरेको जल समाधिलाई स्मरण गर्दै उनले वषौँ अघि देखि नै महिलामाथि अन्याय र अपमान हुँदै आएको र अब यसलाई चिर्नुपर्ने बताइन् । न्यायिक र समतामूलक समाजका लागि लोकतान्त्रिक शासन प्रणालीमा महिला पुरुषको समान सहभागिता हुनसके मात्रै सुशासन कायम हुने उनको भनाइ छ ।
निर्णायक तहमा महिलाको सहभागिता सुनिश्चित हुनसके विभेद्कारी कानुन बन्न नसक्ने र महिला अधिकार स्थापित हुने उनको विश्वास छ ।
राजनीतिको अग्रमोर्चामा सधैँ महिला होमिएको इतिहास विर्सन नहुने जनाउँदै २०६२÷६३ को ऐतिहासिक आन्दोलन पश्चात् पुन : स्थापित प्रतिनिधिसभाले राज्यको हरेक निकायमा महिलाको ३३ प्रतिशत सहभागिता हुनुपर्ने, आमाको नामबाट नागरिकता पाउनुपर्ने र महिलासम्बन्धी विभेद्कारी कानुनको खारेजीका सम्बन्धमा सार्वजनिक महत्वको प्रस्ताव पारित गरेको उनले स्मरण गरिन् । उनले कानुनी कुरा लाई समेत बेवास्ता गर्दै महिलाको समान सहभागितालाई कार्यकारी बाहिरका पदमा मात्र सीमित गर्ने गरेकाले अब नेतृत्वमा महिलाको लागि दबाब जरुरी रहेको बताइन् ।
नेपाली कांग्रेस महाधिवेशन प्रतिनिधि लक्ष्मी पाण्डेले राजनीतिमा क्रियाशील महिलामाथि विभेद् हुँदै आएको र सबैले सामूहिक रुपमा दबाब दिनसके नेतृत्वमा महिलाको सहभागिता बढ्ने बताइन् । उनले महिलाको क्षमतामाथि प्रश्न उठाउने अधिकार कसैलाई नभएको जनाउँदै अब नेतृत्वमा महिलाको बहसलाई स्थापित गर्न सबै दलका महिलाको साझा धारणा बनाउनुपर्ने बताइन् ।
नागरिक अधिकारकर्मी रामबहादुर पौडेलले सही समयमा सही आवाज उठाउनुपर्ने बताउँदै अहिले महिलालाई नेतृत्वमा पुर्याउने अभियान निकै जायज र समयको माग भएको बताए । अभियानलाई भर्याङ बनाएर नभइ समाज परिवर्तनको माध्यम बनाउनुपर्ने र यस्ता अभियान देशभरी नै चलाउन आवश्यक रहेको उनको धारणा रहेको छ । अभियान अन्तर्गत छलफल, अन्तक्रियासहित प्रमुख राजनीतिक दलका नेतालाई ज्ञापनपत्र बुझाइने र नेतृत्वमा महिलाको सम्मानजनक उपस्थिति सुनिश्चित नभएसम्म अभियान निरन्तर दिइने अभियानका सदस्य लक्ष्मी अधिकारीले बताइन् । उनका अनुसार प्रदेशका सबै जिल्लामा खबरदारीका कार्यक्रमसहित महिलाको हक, अधिकार स्थापितका लागि राष्ट्रपति र प्रधानमन्त्रीलाई समेत ज्ञापनपत्र बुझाउने कार्यक्रम रहेको छ ।
प्रतिक्रिया