बिहीबार, वैशाख ११, २०८२

नेप्से २६ सय ३१ दशमलव ३२ अंकमा, सातामा १२ अर्ब २२ करोडको कारोबार

नेपालखोज २०७८ चैत ४ गते ११:१४

काठमाडौं । नेप्से यो साता पनि सामान्य अवस्थामै गुज्रिएको छ । सातामा पाँच कार्य दिन खुल्नुपर्ने नेप्से एक दिन सार्वजनिक बिदा परेका कारण चार कार्य दिन मात्र खुलेको थियो ।

सोमध्ये दुई कार्य दिन अर्थात् पहिलो र दोस्रो दिन नेप्से बढे पनि बाँकी दुई कार्य दिन नेप्से घटेको थियो । बढेको दुई कार्य दिनमा पनि दोस्रो दिन ब्रोकरको डाटामा समस्या आएको नेप्से निर्धारित समयभन्दा दुई घण्टाअगाडि नै बन्द भएको थियो । यस अर्थमा यो साता नेप्से सूचक तथा कारोबार रकम गत साताको तुलनामा केही बढेको देखिए पनि सन्तोषजनक भने देखिएन ।

जसअनुसार यो साता नेप्से २६ सय ३१ दशमलव ३२ अंकमा सीमित हुँदा सेन्सिटिभ इन्डेक्स पनि चार सय ९७ दशमलव ३७ अंकमा सीमित हुन पुगेको छ । सातामा दुई सय ३१ कम्पनीको एक लाख ६६ हजार पाँच सय ४२ पटक सेयर किनबेच भएको छ । उक्त किनबेचका आधारमा यो साता कुल कारोबार रकम १२ अर्ब २२ करोड ६७ लाख ७८ हजार पाँच सय ८९ रुपैयाँ कायम भएको छ ।

यो कारोबार रकम गत साताको तुलनामा बढी हो । गत साता भने दुई सय ३० कम्पनीको एक लाख २९ हजार आठ सय ७८ पटक सेयर किनबेच भएको थियो । जसअनुसार उक्त साता दुई करोड १० लाख २५ हजार ८१ कित्ता सेयर किनबेच हुँदा कारोबार रकम १० अर्ब २३ करोड ८३ लाख ६१ हजार सात सय ७८ रुपैयाँ पुगेको थियो ।

यो साता नेप्से चार कार्य दिन मात्र खुलेको थियो । जसमध्ये पहिलो दिन एक सय एक दशमलव सात अंकले बढेर दुई हजार ६ सय ६७ दशमलव ९७ अंकमा चढ्न सफल भएको नेप्से चौथो कारोबार दिन १९ दशमलव ६५ अंकले घटेर दुई हजार ६ सय ३१ दशमलव ३२ अंकमा खुम्चिएको छ । यसैगरी सेन्सिटिभ इन्डेक्स पनि पहिलो दिन १६ दशमलव ३७ अंकले बढेर पाँच सय नौ दशमलव ९० अंकमा पुग्न सफल भएकामा चौथो कारोबार दिन पाँच दशमलव २२ अंकले घटेर चार सय ९७ दशमलव ३७ अंकमा सीमित हुन पुगेको छ । पाँचौं कार्यदिन भने नेप्से बन्द थियो ।

यो साता बढी रकम कारोबार गर्ने कम्पनीहरूको सूचीमा नेपाल टेलिकम, हिमालयन डिस्ट्रिलरी प्रालि आदि परेका छन् भने सेयर कारोबार भएको संख्याका आधारमा नेपाल टेलिकम, नेसनल हाइड्रो पावर कम्पनी आदि अगाडि परेका छन् । बजार पुँजीकरणका आधारमा भने यो साता पनि नेपाल टेलिकम, नबिल बैंक, नेपाल लाइफ इन्स्योरेन्स कम्पनी अगाडि परेका छन् ।

प्रतिक्रिया