रेडक्रसले एम्बुलेन्स खरिद गर्ने

तनहुँ । तनहुँको घिरिङ गाउँपालिकास्थित रेडक्रस सोसाइटी भगवतीपुर उपशाखाले एम्बुलेन्स सेवा सञ्चालन गर्ने भएको छ । ग्रामीण भेगका सर्वसाधारणलाई सेवा दिने उद्देश्य सहित उपशाखाले एम्बुलेन्स सञ्चालन गर्न लागेको हो । उपशाखाले एम्बुलेन्स खरिदका लागि स्थापना गरेको कोषमा ४० लाख रुपैयाँ संकलन गर्ने लक्ष्य रहेकोमा हालसम्म एक लाख २१ हजार ३१६ रुपैयाँ संकलन भएकोे सभापति मीनबहादुर कार्कीले जानकारी दिए ।
उपशाखाका पदाधिकारीबाट उक्त रकम संकलन भएको उनले बताए । उनले भने ,। ‘यस भेगमा एम्बुलेन्स नहुँदा सर्वसाधारणले सास्ती बेहोर्दै आएका छन्, बिरामी भएका बखत स्वास्थ्य संस्था सम्म जान निजी सवारी साधनमा महंगोे शुल्क तिर्नुपर्ने बाध्यता छ।’
रेडक्रसका विभिन्न उपशाखाले एम्बुलेन्स सञ्चालन गर्न थालेका छन् । यस अघि व्यास नगरपालिका–१० दुम्सीकोट उपशाखाले पनि जनस्तरबाट रकम संकलन गरी एम्बुलेन्स सञ्चालनमा ल्याइसकेकोे छ । विसं २०७७ भदौ १९ गते देखि थालिएको अभियान मार्फत २९ लाख १४ हजार २१९ रुपैयाँ संकलन भएकोमा १३ लाख रुपैयाँको लागतमा एम्बुलेन्स खरिद गरिएको दुम्सी उपशाखाका सभापति रामदत्त पौडेलले बताए ।
प्रतिक्रिया