नेप्सेमा दोहोरो अंकले गिरावट, लगानीबाहेक सबै समूहको सूचक रातै

काठमाडौं । साताको पहिलो कारोबार दिन आइतबार नेप्से दोहोरो अंकले घटेको छ । नेप्से आज १४ दशमलव ६७ अंकले घटेर २६ सय ८९ दशमलव ५० अंकमा पुगेको छ । सेन्सिटिभ इन्डेक्स पनि तीन दशमलव एक अंकले घटेर चार सय ९४ दशमलव ३८ अंकमा पुगेको छ ।
दुई सय २४ कम्पनीको ३५ हजार दुई सय १२ पटकको कारोबारमा ४२ लाख ८७ हजार पाँच सय ६९ कित्ता सेयर किनबेच भएकामा कुल कारोबार रकम दुई अर्ब २७ करोड ४६ लाख २६ हजार एक सय ९१ रुपैयाँ पुगेको छ ।
१३ वटा समूहको कारोबार भएकामा आज लगानी समूहको सूचक एक दशमलव ४४ अंकले बढेर बाँकी समूहहरूको सूचक उच्च अंकले घटेका छन् । सोमध्ये वाणिज्य बैंक समूहको सूचक आठ दशमलव तीन अंकले घटेर १६ सय ८९ दशमलव ५० अंकमा झरेकामा विकास बैंक समूहको सूचक पनि ५३ दशमलव ५१ अंकले घटेर ४५ सय ३९ दशमलव २९ अंकमा झरेको छ ।
जलविद्युत् समूहको सूचक पनि १३ दशमलव ६ अंकले घटेर तीन हजार ६७ दशमलव ५५ अंकमा झरेकामा निर्जीवन बिमा समूहको सूचक पनि ७४ दशमलव २६ अंकले घटेर १२ हजार एक सय नौ दशमलव २० अंकमा झरेको छ । जीवन बिमा समूहको सूचक पनि एक सय ९७ दशमलव नौ अंकले घटेर १४ हजार दुई सय १९ दशमलव ४५ अंकमा झरेकामा फाइनान्स, ट्रेडिङ, होटेल तथा पर्यटन, उत्पादनमूलक, अन्य, लघुवित्त र सामूहिक लगानी कोष समूहहरूको सूचक पनि घटेका छन् ।
नेप्सेमा आज राष्ट्र उत्थान लघुवित्त वित्तीय संस्थाको प्रतिकित्ता सेयर मूल्य १० प्रतिशतले बढेर ६ सय २९ रुपैयाँ ९० पैसा अन्तिम मूल्यमा प्रतिकित्ता सेयर कारोबार हुँदा राष्ट्रिय बिमा कम्पनीको संस्थापक सेयरको मूल्य पाँँच दशमलव ८८ प्रतिशतले घटेर १५ हजार नौ सय ७२ रुपैयाँ १० पैसा अन्तिम मूल्यमा प्रतिकित्ता सेयर कारोबार भएको छ ।
यसैगरी आज नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको प्रतिकित्ता १२ सय ३७ रुपैयाँ अन्तिम मूल्यमा १६ करोड २९ लाख ४९ हजार ६ सय ३० रुपैयाँको सेयर कारोबार भएको छ । यो आज भएका कम्पनीहरूको कारोबार रकममध्ये सबैभन्दा बढी हो ।
प्रतिक्रिया