नेप्से वृद्धिदर कायमै, १२ अंकले बढ्दा दुई अर्ब ५१ करोडको कारोबार

काठमाडौं । नेप्सेको वृद्धिले साताको तेस्रो कारोबार दिन मंगलबार पनि निरन्तरता पाएको छ । अघिल्लो दिन १८ दशमलव सात अंकले बढेको नेप्से आज पनि १२ दशमलव ५४ अंकले बढेर २६ सय ४७ दशमलव २० अंकमा पुगेको छ ।
यसैगरी सेन्सिटिभ इन्डेक्स पनि दुई दशमलव ६ अंकले बढेर चार सय ९८ दशमलव ३६ अंकमा पुगेको छ । दुई सय ३५ कम्पनीको ३६ हजार सात सय ७२ पटकको कारोबारमा ५३ लाख २९ हजार नौ सय ९३ कित्ता सेयर किनबेच भएको छ । जसकारण कुल कारोबार रकम दुई अर्ब ५१ करोड ८८ लाख ९४ हजार एक सय ७८ रुपैयाँ पुगेको छ ।
नेप्सेमा आज १३ समूहहरूको सेयर कारोबार भएका छन् । सोमध्ये ट्रेडिङ समूहको सूचक घटेर बाँकी समूहको सूचक बढेका छन् । जसअन्र्तगत वाणिज्य बैंक समूहको सूचक सात दशमलव ७८ अंकले बढेर १७ सय तीन दशमलव २० अंकमा चढेकामा जलविद्युत् समूहको सूचक पनि ११ दशमलव १३ अंकले बढेर ३१ सय ६२ दशमलव ३५ अंकमा चढेको छ ।
निर्जीवन बिमा समूहको सूचक पनि ५१ दशमलव ७२ अंकले बढेर १२ हजार दुई सय सात दशमलव ५१ अंकमा चढेकामा जीवन बिमा समूहको सूचक पनि ८५ दशमलव १२ अंकले बढेर १४ हजार चार सय ७६ दशमलव ९३ अंकमा चढेको छ । यीबाहेक विकास बैंक, फाइनान्स, होटेल तथा पर्यटन, उत्पादनमूलक, अन्य, लघुवित्त, सामूहिक लगानी कोष र लगानी समूहहरूको सूचक पनि बढेका छन् ।
नेप्सेमा आज इमर्जिङ नेपाल लिमिटेडको प्रतिकित्ता सेयर मूल्य नौ दशमलव ९९ प्रतिशतले बढेर ६ सय २८ रुपैयाँ ८० पैसा अन्तिम मूल्यमा प्रतिकित्ता सेयर कारोबार हुँदा एभरेस्ट इन्स्योरेन्स कम्पनीको प्रतिकित्ता सेयर मूल्य तीन दशमलव ६६ प्रतिशतले घटेर चार सय ३९ रुपैयाँ अन्तिम मूल्यमा प्रतिकित्ता सेयर कारोबार भएको छ ।
यसैगरी आज प्रभु इन्स्योरेन्स कम्पनीको संस्थापक सेयरतर्फ प्रतिकित्ता चार सय ५१ रुपैयाँ अन्तिम मूल्यमा १५ करोड ३३ लाख ४० हजार रुपैयाँबराबरको सेयर कारोबार भएको छ । यो आज भएका कम्पनीहरूको कारोबार रकममध्ये सबैभन्दा बढी हो ।
प्रतिक्रिया