बुधबार, वैशाख १०, २०८२

के तपाईं ५५ वर्षभन्दा माथि हुनुहुन्छ ?

पूर्ण राना २०७८ चैत ९ गते १८:१७

यूएनमा कार्यरत हीराकाजी श्रेष्ठले माथिको शीर्षक भएको एउटा लेख सेयर गर्नुभएको थियो । उक्त लेखमा जागिरबाट अवकाश प्राप्त गरेका वा आफ्नो व्यापार व्यवसायबाट विश्राम लिएका वा लिन चाहिरहेका, उमेरका कारणले सक्रिय जीवनबाट संन्यास लिएका वा लिने विचार राखेका ५५ वर्ष पुगेका वा त्योभन्दा माथिका व्यक्तिहरूका लागि अत्यन्तै उपयोगी सुझाव र टिप्सहरू दिइएको रहेछ । लेख अंग्रेजीमा छ र कसले लेखेको हो थाहा छैन तर जसले लेखेको भए पनि सुझावहरू राम्रा र मनछुने भएकाले सबैलाई काम लाग्न सक्छ भन्ने ठानेर सरल नेपालीमा अनुवाद गर्ने प्रयास गरेको छु । शब्दार्थमा तलमाथि भए पनि भावार्थ मिलाएर पढ्नुहोला ।

१. ५५ वर्षदेखि मृत्युसम्म । यो त्यस्तो समय हो जुनबेला तिमीले कमाएर राखेको पैसा खर्च गर्नु पर्छ । पैसा खर्च गर र जीवनको आनन्द उठाउ । आफुले कमाएको पैसा अरू कसैको लागि भनेर साँचेर नराख, त्यो पैसा कमाउन तिमीले कति दुःख, परिश्रम र त्याग गरेका छौ भनेर अरूले बुझ्न सक्दैनन् । याद राख्नु तिम्रा छोरा छोरीहरू र नजिकका आफन्तहरू तिमीले दुःख गरेर कमाएको पैसा प्रयोग गर्ने आकर्षक विचार र योजनाहरू लिएर आउन सक्छन् । यो घातक हुन सक्छ ।

२. चेतावनी । यो कुनै लगानी गर्ने उपयुक्त समय पनि हैन । जतिसुकै राम्रो र नाफामूलक जस्तो देखिए पनि पछि गएर यसले समस्या र चिन्ता निम्त्याउन सक्छ । लगानी गर्नै छ भने ज्यादै विचार र होस पुर्याएर सुरक्षित र न्यून जोखिम हुने ठाउँमा गर्नुपर्छ । यो बेला भनेको अलिकति शान्तिसँग, तनाव रहित भएर जीवन बिताउने समय हो ।

३. आफ्ना छोरा नातिहरूको आर्थिक अवस्थाबारे चिन्ता गर्न छाडिदेऊ र आफूले कमाएको पैसा आफ्नो लागि खर्च गर्न नहिचकिचाउ । तिमीले धेरै वर्षसम्म उनीहरूको राम्रोसँग हेरविचार गरिसकेका छौ । तिमीले उनीहरूलाई राम्रो शिक्षा दिएका छौं र आफ्नो खुट्टामा उभिन पूरापूर प्रयास र योगदान गरेका छौं । अब आफ्ना लागि कमाउने पालो र जिम्मेवारी उनीहरू आफैंको हो ।

४. ठूलो मिहिनेत कष्ट नगरी आफ्नो शरिरलाई स्वस्थ्य राख्ने प्रयास गर्नुपर्दछ । हलका व्यायामहरू गर्ने, सधैं हिँड्ने, सुपाच्य स्वस्थकर खाना खाने, यथेष्ट मात्रामा निदाउने गर्नुपर्दछ । योग ध्यान गर्ने गरेमा मनमा शान्ति मिल्छ र आध्यात्मिक चिन्तनतर्फ ध्यान जान्छ । यो बेला शरिरलाई स्वस्थ्य राख्न गाह्रो हुन्छ र सजिलै बिरामि पर्न सकिन्छ । तेसैले आफ्नो शारिरीक र मेडिकल आवश्यकतालाई ध्यानमा राखि बेला बेलामा डाक्टर जचाउने र टेष्टहरू गराउने गर्नु पर्दछ । आफ्ना मेडिकल रिकर्डहरू राम्रोसंग राख्नु पर्दछ ।

५. आफ्नो जीवनसाथीको लागि सधैं सबैभन्दा राम्रा चिज उपहार किन्ने गर । मुख्य कुरा तिमीले कमाएको पैसाबाट आफ्नो जीवनसाथीसंग मिलेर आनन्द उठाउने हो । कुनै दिन यस्तो आउने छ जब एक-अर्कालाई गुमाउनुपर्नेछ । त्यो बेला पैसाले मनमा कुनै आराम वा सान्त्वना दिने छैन । त्यसैले आनन्द दुवै मिलेर लिनु पर्दछ ।

६. सानो तिनो कुरामा चिन्ता लिने बानी गर्नु हुँदैन । तिमीले जीन्दगिमा धेरै झेलिसकेका छौ । तिमीसंग राम्रा नराम्रा दुबै अनुभवहरू छन् । तर महत्वपूर्ण भनेको तिम्रो बर्तमान हो । बिगतका कुराबाट थिचिनु हुँदैन र भविष्यसंग डराउनु हुँदैन । अहिलेमा रमाउन सिक्नु पर्दछ । सानातिना समस्या आफै ठीक भएर जानेछन् ।

७. उमेर जतिसुकै भए पनि माया प्रेमलाई जीवन्त राख्न सक्नुपर्दछ । आफ्नो जीवनको माया गर, जीवनसाथीलाई माया गर, परिवारलाई माया गर, छिमेकीलाई माया गर । याद राख मानिसमा बुद्धि विवेक, माया, स्नेह र सद्भाव रहुन्जेलसम्म ऊ बूढो हुँदैन ।

८. आफूप्रति गर्व गर । भित्र बाहिरबाट आफूलाई चुस्त दुरूस्त राख । आफुलाई मन पर्ने स्टाइलमा कपाल बनाऊ, आफ्नो छाला र दाँतहरूको राम्रो हेरचाह गर । मन पर्ने परफ्यूम क्रिम लोसनहरू किनेर राख र प्रयोग गर । यसबाट तिम्रो व्यक्तित्व राम्रो बनाई राख्न मद्दत पुग्ने छ ।

९. फेसन ट्रेन्ड कस्तो छ भन्ने कुरालाई ध्यानमा राख्दै आफ्नो उमेरअनुसार आफुलाई सुहाउँदो फेसन गर्न पछि पर्नु हुँदैन । बूढो भएँ भनेर झुत्रे झाम्रे भएर बस्नु जरुरी छैन । राम्रो ड्रेसअपले व्यक्तित्वमा निखार ल्याउँछ ।

१०. आफूलाई अद्यावधिक (up-to-date) राख । अखबार पढ्ने गर, टीभीमा समाचार हेर । अनलाइन जाऊ, मानिसहरूको विचार बुझ । आफ्नो इमेल एकाउन्टलाई सक्रिय राख, सामाजिक सन्जालमा पुराना मित्रहरू भेटिन सक्छन् । पुराना दिनहरूको यादले मनलाई रमाइलो बनाउन मद्दत गर्नेछ ।

११. युवा पुस्ता र उनीहरूको विचारलाई सम्मान गर्न सिक । उनीहरूको सोचाई तिम्रोभन्दा फरक हुन सक्छ र युवा पुस्तानै देशका भविष्य हुन भन्ने कुरा बुझ्न सक्नु पर्छ । उनिहरूलाई सुझाव दिन सकिन्छ तर आलोचना गर्नु हुँदैन । ‘मेरो पालामा त…’ भन्ने कुरा गर्नु हुँदैन किन भने तिम्रो पालो त गइसक्यो । तिमी बाँचुन्जेल तिमी अहिलेको समयको हिस्सा हौ ।

१२. कोही व्यक्तिहरू बितेका राम्रा दिनहरू सम्झेर खुसी हुन्छन् भने कोही नराम्रा कुरा सोचेर तिक्तता पोखिरहेका हुन्छन् । जीवन छोटो छ, तिक्तता पोख्दै समय फाल्नु बुद्धिमानी हुँदैन । सकारात्मक सोच राख्ने र रमाइलो गर्ने मानिसहरूको संगत गर्यो भने जीवनमा सहजता आउन सक्छ ।

१३. यदि तिमी आर्थिक रूपमा सक्षम छौं भने छोरा छोरी नाति-नातिनीहरूसँग बस्ने मोह नराख । परिवारसँग घेरिएर बस्नु राम्रो लाग्न सक्छ तर हामी सबैलाई आफ्नो एकान्तता (private space) चाहिन्छ । तिमीलाई तिम्रो एकान्तता चाहिन्छ भने उनीहरूलाई आफ्नो । परिवारबिना बस्नै नसक्ने अवस्थामा मात्र त्यो विकल्प हुन सक्छ ।

१४. आफ्ना शौखहरू (hobbies) लाई परित्याग नगर । छैनन् भनेपनि नयाँ hobbies बनाउन सकिन्छ । आफ्नो जीवनसाथीलाई लिएर घुम्न जान सकिन्छ, साथीभाईसँग हाइकिङ जान सकिन्छ, कुकिङ, डान्सिङ, चेस खेल्ने आदि गर्न सकिन्छ । कुकुर पाल्न, सानो किचन गार्डेन बनाउन सकिन्छ । यसबाट आफूलाई शारीरिक र मानसिक रूपमा सक्रिय राख्न मद्दत मिल्छ ।

१५. बेला-बेलामा घरबाट बाहिर निस्क । धेरै समयदेखि भेट हुन नसकेका आफन्त साथीभाइहरूलाई भेट । नयाँ कुराहरूको अनुभव गर । म्युजियम जाउ, पेन्टिङ एग्जिविसन जाऊ, म्युजिक कन्सर्ट जाऊ । यसले तिमीलाई ताजगी प्रदान गर्नेछ ।

१६. उमेर बढ्दै जाँदा शारीरिक पीडा, तकलीफ, असुविधाहरूले मितेरी गाँस्न थाल्छन् । यसबारे धेरै चिन्ता गरिराख्नुभन्दा यसलाई जीवनको अंग ठानेर अघि बढनुपर्दछ ।

१७. कसैले नराम्रो भन्यो, चित्त दुखाायो भने उसलाई माफ गरिदेऊ । तिमीबाट पनि कसैको चित्त दुखाउने काम भएको छ भने क्षमा माग । कसले के गर्यो र कसले के भन्यो भन्ने कुरामा अलमलिन थाल्यो भने त्यसले आफैंलाई निराश र दुखी बनाउने मात्र काम गर्छ । त्यसकारण ‘माफ गर, बिर्स र अघि बढ’ (Forgive, forget and move on) को सिद्धान्त अपनाउनुपर्छ ।

१८. हाँस । खुब हाँस । आफ्नो चिन्ता बिर्सेर हाँस । याद राख तिमी भाग्यमानी छौं । तिमीले यो जीवन भोग्न पाएका छौ, लामो जीवन । सबैले जीवनको आनन्द उठाउने सौभाग्य पाएको हुँदैन ।

प्रतिक्रिया