बुधबार, वैशाख १०, २०८२

लेखन जीविका

सुनील सापकोटा २०७८ चैत ११ गते ११:३५

अस्ति बिहान मेरो एकजाना घनिष्ठ मित्र र चर्चित पत्रकार एवं लेखकसँग ‘लेखनबाट आजीविका’ का सम्बन्धमा निकैबेर कुराकानी भयो । आजको समयमा कवि र लेखकले लेखनलाई नै पेसा बनाइ आफ्नो जीविका चलाउनुपर्छ अनिमात्र हाम्रो नेपाली साहित्य अघि बढ्छ भन्ने उहाँको विचार मलाई राम्रो लाग्यो ।

पश्चिमी मुलुकहरु र विकसित देशहरुमा किताबहरु पढ्ने चलन र बानी छ । तर यहाँ गरिबी र अभावका कारणले मात्र होइन कि पढेलेखेका धनी मानिसहरु पनि हत्तपत्त पत्रिका वा किताबहरु किनेर पढ्दैनन् । तर भोज भतेर र नचाहिँदो फेसन र सान देखाउनचाहिँ खर्च गर्न लोभ गर्दैनन् ।

नेपालमा लेखक/कविलाई प्रायः सबैले सोध्ने गर्छन्- ‘लेख्नु हुँदोरहेछ, तर गर्नु हुन्छ के ?’ सोध्नेहरुको आशय आजीविकाका लागि के गर्नुहुन्छ भन्ने हो । किनकि हाम्रो देशमा अहिले लेखेर मात्र घर चलाउँछु भन्नू दिवाश्वप्न होला । पछि हुन सक्ला, जब देश समृद्धितिर उन्मुख होला । तर हिजोआज त गाह्रो छ । किनकि अहिले यहाँ बजारको माग र पूर्तिको सिद्धान्तले साथ नै दिँदैन ।

हाम्रो बजारमा किताबका पसलहरु नै प्रायः देखिँदैनन् । बजारमा जनसंख्याको अनुपातमा किताबको माग नै छैन । मलाइ लाग्छ यहाँ पैसाको अभाव मात्र होइन कि हुनेखाने र पढेलेखेकाहरुमा पनि ‘रिडिङ प्राक्टिस’ पनि छैन । त्यसैले यस्तो बेलामा लेखक र कविहरुले लेखनबाट मात्र आफ्नो जीविका चलाउने कुरा सोच्नु मूर्खता होला । तर पनि अहिले देखिनै कवि गोष्ठी वा साहित्यिक सेमिनारका आयोजकहरुले लेखक/कविहरुलाई थोरै भए पनि केही रकम दिने अभ्यास गरेचाहिँ भविष्यमा राम्रै होला । एउटा राम्रो अभ्यासको थालनी होला ।

मेरो विचारमा पैसा प्राप्त हुँदा मात्र लेखकले खारिएको र राम्रो र कालजयी लेख्छ भन्ने छैन । पैसाको लागि लेख्नुभन्दा आफ्नो मन खुसीले लेखक वा कविले साहित्यको सिर्जना गर्‍यो भने त्यो सक्कली होला । जीवन्त होला । त्यसमा राप र ताप होला । त्यो लेखन वा साहित्य सच्चा होला र कृतिकार पनि इमानदार र निष्ठावान कहलाइएला । बिकाउ लेखनमा त्यति दम न होला। लक्ष्मीप्रसाद देवकोटा, लेखनाथ पौडेल, बालकृष्ण समका कृतिहरुजस्तो त्यो बिकाउ लेखक/कविको त्यस्तो कृतिहरु हुन सक्ला र ? मलाई लाग्छ लेखन गायन पेसाजस्तो होइन । लेखकले पैसाका लागि मात्र लेख्नु हुँदैन ।

प्रतिक्रिया