बुधबार, वैशाख १०, २०८२

नेप्से २६ सय १३ दशमलव ६७ अंकमा, सातामा १२ अर्ब ६८ करोडको कारोबार

नेपालखोज २०७८ चैत ११ गते ११:५९

काठमाडौं । यो साता नेप्से २६ सय १३ दशमलव ६७ अंकमा पुगेर रोकिएको छ । यसैगरी ‘क’ वर्गका कम्पनीहरूको कारोबार मापन गर्ने सेन्सिटिभ इन्डेक्स पनि चार सय ८८ दशमलव ९४ अंकमा पुगेर रोकिएको छ ।

सातामा दुुई सय ३५ कम्पनीको एक लाख ८४ हजार ६ सय ७७ पटकको कारोबारमा दुई करोड ४० लाख ९० हजार सात सय ६२ कित्ता सेयर किनबेच भएका छन् । जसबाट यो साता कुल कारोबार रकम १२ अर्ब ६८ करोड १५ लाख ३४ हजार आठ सय ७२ रुपैयाँ पुुगेको छ । यो कारोबार रकम गत साताको तुलनामा थोरै मात्र बढी हो ।

गत साता भने नेप्सेमा दुुई सय ३१ कम्पनीको एक लाख ६६ हजार पाँच सय ४२ पटक सेयर कारोबार भएको थियो । जसबाट कुल दुई करोड २८ लाख ६८ हजार तीन सय ९७ कित्ता सेयर किनबेच हुँदा कारोबार रकम १२ अर्ब २२ करोड ६७ लाख ७८ हजार पाँच सय ८९ रुपैयाँ पुुगेको थियो । नेप्से यो साता पाँच कार्य दिन नै खुले पनि दोस्रो र तेस्रोबाहेक बाँकी दिनहरूमा नेप्से सूचक तथा कारोबार रकम दुवै घटेका थिए ।

जसअनुसार पहिलो दिन १४ दशमलव ६७ अंकले घटेर दुुई हजार ६ सय १६ दशमलव ५८ अंकमा खुम्चिएको नेप्से अन्तिम कारोबार दिन पनि १६ दशमलव ६९ अंकले घटेर दुुई हजार ६ सय १३ दशमलव ६७ अंकमा सीमित हुन पुगेको छ ।

यसैगरी सेन्सिटिभ इन्डेक्स पनि पहिलो दिन तीन दशमलव शून्य एक अंंकले घटेर चार सय ९४ दशमलव ३८ अंकमा खुम्चिएकामा अन्तिम कारोबार दिन पनि ६ दशमलव १७ अंंकले घटेपछि चार सय ८८ दशमलव ९४ अंकमा सीमित हुन पुगेको छ । यीबाहेकका बाँकी दिनहरूमा भने नेप्से घट्ने र बढ्ने क्रम चलिरहेको थियो ।

बढी रकम कारोबार गर्ने कम्पनीहरूको सूचीमा यो साता नेपाल टेलिकम, जीवन विकास लघुवित्त वित्तीय संस्था, हिमालयन डिस्ट्रिलरी प्रालि, नबिल, बैंक आदि अगाडि छन् । सेयर कारोबार भएको संख्याका आधारमा नेपाल टेलिकम, नेसनल हाइड्रो पावर कम्पनी, नबिल बैंकलगायत कम्पनीहरू अगाडि परेका छन् ।

बजार पुँजीकरणका आधारमा भने यो साता पनि नेपाल टेलिकम, नबिल बैंक, नेपाल लाइफ इन्स्योरेन्स कम्पनी आदि अगाडि परेका छन् ।

प्रतिक्रिया