मेटोस् कविताले तिर्खालु बटुवाको प्यास
ऋषभदेव घिमिरे
२०७८ चैत १२ गते ७:०७

तिमी हाँसिनौ भने
कहाँ लेख्न सकिन्छ र कविता ?
कविता
सपनाबाट ब्यूँझियोस्
दुर्जन मनलाई सुताएर
शीतल सज्जनतासँग रमाओस्
मेटोस् कविताले
तिर्खालु बटुवाको प्यास
पढ्दा आनन्दको आभाष होस्
कविता तिमी भित्र
भेटियोस् चिन्मय भाव
पङ्क्ति पङ्क्तिले तलतल मेटिदियोस्
घत लाग्ने बनोस् कविताको संरचना
वेदना निमिठ्यान्न हुन सकोस्
युग सापेक्ष रूप होस्
व्यञ्जनाका परिपाकले
पूर्ण होस् कवि र कविताको सहवास
पुरुषलाई रुन कठोर पार्ने
टेस्टोस्टेरोनका ग्रन्थीहरूमा कम्पन आओस्
बगाएर प्रेमाश्रुले धोओस् मनको मैलो
नारी संवेदनाका प्रोल्याक्टिनमा
कमि आओस्
र, नरोओस् अनाहकमा मान्छे
कविता
तिम्रो प्रतिभाको आभाले
आवेग शान्त गरोस्
तिमीमा आश्रित
जीवनका आलोचनाहरूले
हृदयलाई आल्हादित पारोस्
निरन्तर स्पर्श गरोस्
कविताले कविको हृदय
र,लेखियोस्
धर्ती-आकाश चुम्न सक्ने कविता ।
सम्बन्धित
प्रतिक्रिया