अन्तर

तिमी र ममा यही अन्तर छ,
म प्रेमपूर्वक छुट्टीन चाहन्छु,
तिमी घृणापूर्वक छुट्टिन चाहन्छौ
म शान्तीपुर्वक हार स्वीकार्न रुचाउछु,
तिमी युद्ध गरेर जीत हासिल गर्न चाहन्छौ
हो, तिमी र म मा आकाश जमिनको फरक छ
म मित्रतालाई सुन्दरताले बिट मार्न चाहन्छु,
तिमी मित्रतामा तिक्तता मिसाउन चाहन्छौं
हो, तिमी र म मा धेरै भिन्नता छ
म सम्बन्धले दिएका फुलहरु उन्न चाहन्छु,
तिमी त्यहि फुलहरु च्यातेर सौन्र्दय खोज्न चाहन्छौ
तिमी प्रेमलाई न्यायलयको कठघरामा उभ्याउन माहिर छौं
म प्रेमको न्यायलयमा संसारलाई उभ्याउन चाहन्छु
तिमी बुद्धिले हृदय जित्न खोज्ने मान्छे,
म ठिक उल्टो छु
हृदय बिनाको बुद्धि प्राण विनाको शरिर जस्तै लाग्छ
हो, तिमी र म मा यहि अन्तर छ
तिमी र म मा यहि अन्तर छ
तिमी प्रेम मापनका आयमहरु बटुलेर हिसाब लगाउन खप्पीस छौ
म भने हिसाब किताबमा विल्कुलै कच्चा मान्छे,
मलाई लाग्छ, प्रेम हिसाबले होइन बेहिसाबले चल्छ
तिमी ठिक र बेठिकको निर्णय लिने न्यायधिस जस्तो मान्छे,
म अन्धो छु, के पाप के पुन्य ?
प्रेममा सबै समान देख्ने मान्छे,
हो, तिमी र म मा उज्यालो र अध्यारोको फरक छ
तिमी रातमा रात देख्छौ, म रातमा जुन देख्ने मान्छे
हो, तिमी र म मा दृष्टीकोणको फरक छ
तिमी र म मा आकाश जमीनको अन्तर छ ।
प्रतिक्रिया