कञ्चनपुरमा दुई दशकपछि विमानस्थल निर्माण कार्य सुरु

काठमाडौं । कञ्चनपुरको महेन्द्रनगरस्थित २०५६ सालमा असुरक्षाको कारण देखाउँदै बन्द गरिएको मझगाँउ विमानस्थल झण्डै दुई दशकपछि निर्माण कार्य सुरु भएको छ ।विमानस्थल निर्माणको लागि ठेक्का प्रक्रिया मार्फत विमानस्थलको धावनमार्ग निर्माण कार्य अगाडि बढेको महेन्द्रनगर विमानस्थल आयोजना सहायक प्रमुख प्रकाश श्रेष्ठले जानकारी दिए ।
उनले विमानस्थल निर्माणकार्य सुरु दुईहप्ता भएको र विमानस्थल निर्माणको ठेक्का कान्छाराम कन्ट्रक्सन कम्पनी र जीएस जेभिले तीन वर्ष भित्र निर्माण सम्पन्न गर्ने सम्झौता अनुसार काम सुरु भएको बताए । विमानस्थल निर्माणका लागि ४५ करोड ६६ लाख २४ हजार रुपैयाँमा ठेक्का सम्झौता भएको छ । त्यस्तै, मझगाउँ विमानस्थल पूर्नसञ्चालन समिति संयोजक रमेश चन्दले विमानस्थल निर्माण सम्पन्न भएर सुदूरपश्चिममा पर्ने कञ्चनपुरले पर्यटक विकासको ढोका खोल्ने बताउँदै उनले कञ्चनपुर जिल्ला सुदूरपश्चिमका नौ जिल्ला मध्ये सबैभन्दा बढी पर्यटकिय सम्भावना बोकेको हुँदा विमानस्थल बन्न आवश्यक रहेको बताए।
अहिले विमानस्थलको धावन मार्गको रोलिङ र फिलिङको काम सुरु भएको छ । विभिन्न चरणमा निर्माण गरिन लागेको विमानस्थलको पहिलो चरणमा १५ सय २५ मिटर क्षेत्रमा धावन मार्ग निमार्ण गरिने छ । विमानस्थल निर्माण कार्य सुरु भएसँगै स्थानियवासीहरु विमानस्थल सन्चालन हुने आशाले हर्षित भएका छन् । महेन्द्रनगर सदरमुकाम क्षेत्रबाट स्थानिय नागरिकले राजधानी काठमाडौं जान कैलाली स्थित धनगढी विमानस्थल जानुपर्ने बाध्यता रहेको छ ।
विमानस्थल निर्माणको लागि तीन तहका सरकारको लगानीमा निमार्ण हुन लागेको छ । जसमा ५० प्रतिशत नागरिक उड्यन प्राधिकरण, २५ प्रतिशत सुदुरपश्चिमम प्रदेश, १५ प्रतिशत भीमदत्त नगरपालिका र १० प्रतिशत दोधरा चाँदनी नगरपालिकाको लगानी रहेको छ । विमानस्थल सञ्चालनका लागि पुर्ननिमार्णमा लगानी सहकार्य गरेकाे स्थानिय तहले सन्चालन गर्नमा सहकार्य गर्ने बताएका छन् ।
प्रतिक्रिया