‘वैदेशिक ऋण तथा सहायता बजेटको अनुरूप प्राप्त हुन सकेको छैन’

यो आर्थिक वर्ष अर्थतन्त्रका लागि उत्साहप्रद रहेन । कोभिडको त्रासले जति बिगार्छ सोचेका थियौं, त्यति बिगारेको थिएन तर कोभिड शान्त हुँदै गर्दा अर्थतन्त्रले गति लिन्छ की भन्ने अपेक्षा पूरा हुन सकिरहेको छैन । केही सूचकांक निम्नानुसार छन् ।
१. मुद्रास्फिति (Inflation) को दर दुई गुणाभन्दा बढीले बढेर ६ प्रतिशत हाराहारी पुगेको छ । थोक मूल्यको मुद्रास्फिति १० प्रतिशतभन्दा बढीले बढ्यो ।
२. कर्जा वृद्धिदरको एकतिहाइ पनि निक्षेपको वृद्धिदर हुन सकेन । स्थानीय सरकारको खाता को ८० प्रतिशत सम्म रकमलाई बैक तथा वित्तीय संस्थाको निक्षेपमा गणना गर्न मिल्ने व्यवस्था गर्दासमेत सवा खर्ब निक्षेप बृद्धि पनी हम्मे हम्मे भयो । बैकहरुको सीडी रेसियो ९१ प्रतिशत को हाराहारी छ ।
३. व्यापार घाटा ३८-४० प्रतिशतले बढेको छ । वैदेशिक मुद्रा सञ्चिति घट्दै गएर साढे ६ महिनासम्मको वस्तु तथा सेवा आयात गर्न मात्र पर्याप्त छ र चाप बढ्दो छ ।
४. दुई लाखभन्दा बढी थप नेपाली नागरिक वैदेशीक रोजगारमा जाँदा पनि रेमिटेन्स ६ प्रतिशत हो हाराहारीले घटेको छ ।
५. अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य ५५ प्रतिशतभन्दा बढीले वृद्धि भएकाले त्यसको असर नेपालमा पनि परेको छ ।
६. सरकारले पूर्ववत् पुँजीगत खर्च गर्न सकेन । वैदेशिक ऋण तथा सहायता बजेटको अनुरूप प्राप्त हुन सकेको छैन । वैदेशिक लगानीको लक्ष्य, गफ र तथ्यको अवस्था उस्तै छ ।
७. सरकार तथा सरकारी निकायहरूले नेपाल राष्ट्र बैंकमा खोलेका खाताहरूमा १०० अर्ब रुपैयाँभन्दा थप रकम जम्मा भएको छ । यसले तरलतामा थप चाप परेको छ ।
८. ब्याजदरमा वृद्धि भएको छ । नयाँ कर्जा पाउनै मुस्किल, पाइहाले पनि १३ प्रतिशतभन्दा माथिको ब्याजदरमा लिनुपर्ने स्थिति छ । यसले उधमशीलतालाई निरूत्साहित गर्छ र यसको दूरगामी असर पर्दछ ।
९. देशको अर्थतन्त्रका सूचकांकहरुजस्तै रहे पनि नेपालीहरूको वैदेशिक यात्रा राम्रै बढेको छ । देशमा भन्दा विदेशमा सम्भावना बढी देखिँदा पढ्न या पढ्न भनेर विदेशिने संख्या राम्रै बढ्दा यस्तो भ्रमणमा हुने खर्च ९२ प्रतिशत हाराहारीले बढेर ३६ अर्बमाथि पुगेको छ ।
१०. पुँजीबजारप्रति सरकार र नियामकहरुको अस्थिर रवैया र लगानीकर्ताहरुको अस्थिर मनोवृत्तिले गर्दा दैनिक २०,२२ अर्ब कारोबार रकम पुगेको बजार घटेर २,३ अर्ब दैनिक कारोबारमा सीमित भएको छ । यसले लगानीकर्ताहरुमा निराशासँगै पुँजी पलायनको समेत आशंका गरिएको छ ।
तरलता अभावमा सुरुवाती दिनहरुमा एक अर्कालाई दोष दिँदै समाधानका बारेमा सोचिएन । यसपटकको तरलता अभाव systemic हो र छिटै अनि सहजै समाधान हुँदैन भन्ने मेरो धारणा सुरुवातमै थियो । यसपटक अर्थतन्त्रका सूचकांकहरु सबैतिरबाट बिग्रेका छन् । एउटा प्वाल टाल्यो भने अरु दुई प्वाल पर्ने स्थिति छ ।
अहिले कसले कसलाई दोष दिएर आफू चोखो बन्ने भन्ने खेलमा लाग्ने बेला होइन, समाधानका उपायहरुमा लाग्नुपर्छ अनि होस्टेमा हैंसे गर्नुपर्छ । आत्तिनुपर्ने होइन र सम्हालिएर हिँड्नुपर्ने स्थिति चाहिँ छ । समयमै एउटा टास्क फोर्स (राजनीतिक रंग र स्वार्थ नभएको) बनाएर अल्पकालीन र दीर्घकालीन समाधानका उपायमा काम गर्न जरुरी छ ।
नबिल बैंकका नायव महाप्रबन्धक मनोज ज्ञवालीको यो विचार हामीले उहाँकै फेसबुकबाट लिएका हौं ।
प्रतिक्रिया