संसारको सबैभन्दा लामो सस्पेन्सन ब्रिज

काठमाडौं । यही साता संसारको सबैभन्दा लामो हेंगिङ (सस्पेन्सन) ब्रिज (World’s Longest Suspension Bridge) आममानिसहरूका लागि खुला गरिएको छ । यो पुलले युरोप र एसियालाई जोड्ने काम गर्छ । यो पुल टर्की (Turkey) तथा दक्षिण कोरिया (South Korea) का कम्पनीले संयुक्त रूपमा निर्माण गरेका हुन् ।
यसको निर्माणमा ३३ हजार करोड रुपैयाँ जति खर्च भएको बताइन्छ । करिब पाँच वर्ष लगाएर तयार पारिएको यो पुलबाट टर्कीको राजधानी इस्तानबुलको बाहिरि भाग (एसिया) अनि युरोपको यात्रा मात्र ६ मिनेटमा तय हुन्छ ।
यो पुलको नाम १९१५ क्यानेकेल ब्रिज (1915 Canakkale Bridge) हो । यसले युरोपको जेलिबोलु इलाका र एसियाको ल्यापसेकी इलाकालाई जोड्ने काम गर्छ । १९१५ मा प्रथम विश्वयुद्ध हुँदा ब्रिटिस सेनाले डर्डानेलेस खाडीमा कब्जा जमाउने प्रयास गरेको थियो । यद्यपि ओटोमन साम्राज्यले ब्रिटिस सेनालाई त्यहाँ बाट फर्काइदियो । त्यही जितको सम्झना गर्दै यो पुलको नाममा १९१५ अंकित गरिएको हो ।
१९१५ क्यानेकेल ब्रिजमा ६ लेनको सडक र एकतर्फी तीनलेन छ । यसको लम्बाइ ४.६० किलोमिटर छ । यो पुलको अधिकतम चौडाइ ४५.६ मिटर छ । यसको सबैभन्दा लामो सस्पेन्सन २ किलोमिटर जतिको छ । खाडीबाट यो पुलको सडक २३९ फिट उचाइमा छ । यसको निर्माण २६ फ्रबुअरी २०१७ मा सुरु भएर २६ फ्रबुअरी २०२२ मा पूरा भएको हो। यसलाई यही १८ मार्च २०२२ देखि सर्वसाधारणका लागि खुला गरिएको छ ।
यो पुलमा भएका दुईवटा टावरको उचाइ १ हजार ४३ फिट छ । यो टर्कीको दोस्रो अग्लो पुल हो । यो संसारको छैटौं अग्लो पुल हो । गाडीमा यो पुल तर्न केवल ६ मिनेट लाग्छ ।
-अन्तर्राष्ट्रिय विभिन्न सञ्चारमाध्यमको सहयोगमा
प्रतिक्रिया