आइतबार, वैशाख ७, २०८२

नेपाल टेलिकमका कर्मचारीहरु आन्दोलित

नेपालखोज २०७८ चैत २३ गते १५:२५

काठमाडाैं । नेपाल टेलिकमभित्रकै कर्मचारीलाई प्रवन्ध निर्देशक बनाउन माग गर्दै कर्मचारीहरु आन्दोलित भएका छन् । आज टेलिकमको केन्द्रीय कार्यालयमा नेपाल टेलिकम वर्कश युनियनले खबरदारी सभाको आयोजना गर्दै प्रवन्ध निर्देशकमा टेलिकमभित्रकै वरिष्ठ व्यक्तिलाई नियुक्त गर्न माग गरेको हो ।

सरकारले रिक्त रहेको प्रवन्ध निर्देशकको पदमा नियुक्ती गर्ने तयारी गरिरहेको बेला कर्मचारीहरुले बाहिरबाट व्यक्ति ल्याएर प्रवन्ध निर्देशक बनाउन नहुने भन्दै खबरदारी गरेका हुन् । टेलिकममा संस्था बुझेको, संस्थामा भिजेको र लगानी गरेको मान्छे प्रवन्ध निर्देशक हुनुपर्ने नेपाल टेलिकम वर्कश युनियन केन्द्रीय समितिका अध्यक्ष राजेन्द्र प्रसाद जोशीले बताए ।

टेलिकममा बाहिरी हस्तक्षेप हुन लागेको भन्दै उनले बाह्य हस्तक्षेपबाट मुक्त गराउनका लागि खबरदारी गरिएको बताए।नेपाल टेलिकम नबुझेको मान्छेले यस संस्थालाई हाँक्न नसक्ने उनले बताए ।

उनले भने, ‘आज दुई दिन देखि नेपाल टेलिकममा एमडीको नियक्ति हुँदै गर्दाखेरी नेपाल टेलिकममा बिसौँ वर्ष, तिसौँ वर्षसम्म काम गरेका व्यक्तित्वहरु हुनुहुन्छ । सिनियर सर, म्याडमहरु छन् । यो संस्थामा आफ्नो जीवनको सम्पूर्ण लगानीहरुपनि लगाइसक्नु भएको छ । संस्था बुझेको, संस्थामा भिजेको र संस्थामा लगानी गरेको मान्छे र संस्थालाई सबैतिरबाट बुझेको मान्छे संस्था प्रमुख हुनुपर्छ । र, नेपाल टेलिकम एक नम्बर संस्था हुनका लागि आजसम्म आइपुग्दा जुन अभियानहरु उनिहरुले आफ्नो संस्थामा लगानीहरु पनि गरे ।’

नेपाल टेलिकममा प्रवन्ध निर्देशक नियुक्तिका लागि नियुक्ति प्रक्रियाका विभिन्न मापदण्डहरुलाई परिवर्तन गरिएको भन्दै युनियनले आपत्ति जनाएको छ ।

प्रतिक्रिया