बुधबार, वैशाख १०, २०८२

अर्थतन्त्रका विषयमा पेनिक नबनौं !

डा. रवीन्द्र पाण्डे २०७८ चैत २४ गते २०:३७

श्रीलंकाको अर्थतन्त्र डामाडोल भएपछि हामी सतर्क, सचेत र योजनासहित अघिं बढ्नुपर्नेमा यो विषयलाई अग्रिम पीडाको विषय बनाइएको छ । चिन्ता गर्नुपर्ने नेता तथा ब्युरोक्रयाट निश्चिन्त बसेका छन्, मानौं केही भएको छैन ।

आफ्नो काम गरेर खाने हामी नागरिक अत्यधिक चिन्तामा पुगेका छौं । भूकम्प, नाकाबन्दी, कोरोना महामारी, एमसीसी हुँदै चिन्ता गर्ने पालो अर्थतन्त्रको आएको छ । मिडियामा आउने अतिशयोक्तिपूर्ण समाचारले आम जनतामा असुरक्षा बढाएको छ । तसर्थ सरकारले अर्थतन्त्रका हरेक अवयव जनताले बुझ्नेगरी समयसमयमा सम्प्रेषण गरिरहनुपर्छ ।

१. नेपाल श्रीलंकाजस्तो हालतमा पुग्दैन | हाम्रो कृषि तथा जहाँ भएपनि अधिकांश नागरिकको जग्गा भएको अवस्था छ । उपाय नलागे खनखोरस गरेर भएपनि जीविका चलाउने हाम्रो उपाय छ । आन्तरिक उत्पादनको प्रभावकारी वितरण भए धेरै कुरा आयात गर्नुपर्दैन ।

२. नेपाल श्रीलंकाजस्तो पर्यटनमा पुरै आश्रित देश होइन । रेमिट्यान्स, कृषि तथा पशुपंक्षी पालन, कलकारखाना आदि समेत हाम्रो अर्थतन्त्रका टेवा हुन् ।

३. श्रीलंकाको जस्तो ठूलो ऋण हाम्रो छैन । उसले जति हामीले ब्याज तथा किस्ता तिर्नुपर्ने दबाव छैन ।

४. एमसीसी फेल गरेका कारण एकातर्फ श्रीलंकाले पश्चिमा सहयोग पाएको छैन भने अर्कातर्फ श्रीलंकाले जसका कारण एमसीसी पास नगरेको हो, त्यहि देशको खर्बौं ऋणमा डुबेको छ । हामीकहाँ त्यो स्थिति पनि छैन ।

५. हाम्रो मुद्रा भारतीय मुद्रासँग टाइ–अप भएको हुँदा भारु तथा डलरसँग तत्कालै नेपाली मुद्राको अबमुल्यन हुँदैन ।

६. भारतको अर्थतन्त्र बलियो हुनु तथा खुला सीमा भएको कारण अत्यावश्यक सामग्रीको त्यहाँजस्तो अभाव हुँदैन ।

७. त्यहाँजस्तो यहाँ आतंकबादी हमलाको असुरक्षा छैन । तसर्थ पर्यटनले लय लिनसक्छ ।

८. हामीकहाँ डिजेल, पेट्रोल, मट्टीतेल, ग्यासको अधिक प्रयोग हुने ठूला उद्योग छैनन् । विद्युत उत्पादन बढीरहेको हुँदा ग्यास तथा मट्टीतेलको प्रयोगलाई विद्युतीय चुल्होमा प्रयोग गर्न सकिन्छ |

सरकारले तुरुन्तै यी काम गरे अर्थतन्त्र बच्नेछ –

१. पेट्रोलियम खपत घटाउन तुरुन्तै कडा कदम चाल्नुपर्छ । जोरबिजोर, २ दिन बिदा, कार्यालयमा थोरै सवारीसाधनमा धेरै कर्मचारी बोक्ने, स्कुल भर्ना आफ्नै क्षेत्रमा गर्नुपर्ने, विद्युतीय सार्वजनिक साधनको बढोत्तरी, इन्डक्सन चुल्हो लगायत सुपथ मुल्यमा वितरण, साइकल तथा विद्युतीय कारको प्रायो आदि ।

२. हुण्डी तथा क्रिप्टो करेन्सीमा प्रतिबन्ध, रेमिट्यान्स पठाउँदा थप सुबिधा, एनआरएन लगायतलाई सेयर तथा अन्य लगानीमा प्रोत्साहन, पर्यटन विकासको लागि प्रचारप्रसार आदि गर्नुपर्छ ।

३. नेपालमा सम्भव हुने उत्पादनको आयात बन्द गर्नुपर्दछ । त्यस्तै विलासिताका सामानको आयात पूर्ण बन्द गर्नुपर्छ । यसो गर्दा सरकार ठूला व्यापारीको प्रभाव र दवावबाट मुक्त हुन सक्नुपर्छ ।

४. निर्यात गर्नसक्ने उत्पादनको पहिचान गरेर नेपाली उत्पादनको विश्वबजार बढाउनु पर्छ । महंगी नियन्त्रण गर्नुपर्छ ।

५. राजनैतिक नियुक्ति, तिनै सरकारको फजुल खर्च, भ्रष्ट्राचार नियन्त्रण, अनाबश्यक संरचना निर्माण, सवारीसाधन खरिद, अनाबश्यक भत्ता आदि नियन्त्रण गर्नुपर्छ ।

६. अर्थतन्त्रको विज्ञ टोलीले अर्थ मन्त्रालयको नेतृत्व गर्नुपर्छ । दातासँग निरन्तर परामर्शमा रहेर अर्थतन्त्र बलियो बनाउँदै लानुपर्छ ।

प्रतिक्रिया