बुधबार, वैशाख १०, २०८२

नेप्से २,४६४ अंकमा सीमित, साताभर ९ अर्ब ८३ करोड ११ लाखको कारोबार

नेपालखोज २०७८ चैत २५ गते १५:१५

काठमाडौं । नेप्से यो साता २४ सय ६४ दशमलव ३१ अंकमा सीमित हुन पुगेको छ । यसैगरी सेन्सिटिभ इन्डेक्स पनि चार सय ६३ दशमलव ७३ अंकमा सीमित छ । सातामा दुई सय २६ कम्पनीको एक लाख ८६ हजार दुई सय ५८ पटकको कारोबारमा दुई करोड २३ लाख ४२ हजार ६ सय ४० कित्ता सेयर खरिद–बिक्री भएका छन् । सोही खरिद–बिक्रीका आधारमा यो साता कुल कारोबार रकम नौ अर्ब ८३ करोड ११ लाख ६० हजार सात सय २३ रुपैयाँ कायम भएको छ । यो कारोबार रकम गत साताको तुलनामा झन्डै चार अर्ब रुपैयाँले कम हो ।

गत साता भने नेप्सेमा १३ अर्ब ४२ करोड ५७ लाख ४६ हजार चार सय ११ रुपैयाँको सेयर कारोबार भएको थियो । उक्त साता दुई सय ३२ कम्पनीको दुई लाख १० हजार पाँच सय ४७ पटकको कारोबारमा दुई करोड ६० लाख ६१ हजार ६ सय १५ कित्ता सेयर किनबेच भएका आधारमा उक्त रकम कारोबार भएको हो ।

यो साता नेप्से नियमित कारोबारका लागि पाँच कार्य दिन नै खुला थियो । जसमध्ये पाँचौं दिन नेप्से सूचक तथा कारोबार रकम दुवैमा सुधार देखिए पनि बाँकी चार कार्य दिन नेप्से सूचक तथा कारोबार रकम दुवै उच्च अंकले घटेका थिए ।

सोही आधारमा पहिलो दिन ३० दशमलव ८९ अंकले घटेर दुई हजार पाँच सय १३ दशमलव ४१ अंकमा सीमित हुन पुगेको नेप्से अन्तिम कारोबार दिन ३५ दशमलव ६६ अंकले बढेर दुई हजार चार सय ६४ दशमलव ३१ अंकमा पुग्न सफल भएको थियो । यीबाहेकका बाँकी दिनमा नेप्से लगातार ओरालो लागेको थियो ।

यसैगरी सेन्सिटिभ इन्डेक्स पनि पहिलो दिन ६ दशमलव ४४ अंंकले घटेर चार सय ६९ दशमलव तीन अंकमा झरेकामा अन्तिम कारोबार दिन आठ दशमलव १३ अंंकले बढेर चार सय ६३ दशमलव ७३ अंकमा पुग्न सफल भएको थियो । यीबाहेकका बाँकी दिनहरूमा नेप्से सेन्सिटिभ पनि लगातार ओरालो लागेको थियो ।

नेप्सेमा यो साता बढी रकम कारोबार गर्ने कम्पनीहरूको सूचीमा नबिल बैंक, हिमालयन डिस्ट्रिलरी प्रालि, नेपाल टेलिकम, प्राइम कमर्सियल बैंक अगाडि परेका छन् । सेयर कारोबार भएको संख्याका आधारमा नेपाल टेलिकम, नबिल बैंक आदि अगाडि परेका छन् । बजार पुँजीकरणका आधारमा भने यो साता पनि नेपाल टेलिकम, नबिल बैंक, नेपाल लाइफ इन्स्योरेन्स कम्पनी अगाडि देखिएका छन् ।

प्रतिक्रिया