पक्ष-विपक्ष

मिल्नेहरू पक्षमा उभिए !
नमिल्नेहरू विपक्षमा उभिए ।
पक्ष/विपक्षले हुल जन्मायो
भिडभाड बनायो ।
पक्ष र विपक्षले थिचेर- निष्पक्ष मर्यो ।
वैयक्तिक स्वतन्त्रता-
मौलिक स्वतन्त्रता-
संस्कृतिक स्वतन्त्रता-
र धार्मिक स्वतन्त्रता-
सबैसबै लयहीन भए ।
देश निर्माणको गीतमा-
स्वर एकातिर/ शब्द एकातिर
संगीत अर्कातिर र राप/अन्तरा अर्कैअर्कैतिर ।
भीडहरू गणतन्त्रका पक्षमा-
भीडहरू नै गणतन्त्रका विपक्षमा ।
सुन्नेहरू- पक्षधर भए
देख्नेहरू- विपक्षधर भए
खेल्नेहरू धेरै अगाडिको पक्षमा
नखेल्नेहरू- शयौं पछाडिको विपक्षमा ।
पाउनेहरू पक्षमा/ नपाउनेहरू विपक्षमा ।
पक्ष र विपक्षभित्र-
अपमानसहित मुल्यहीन भए प्रत्येक्षदर्शीहरू ।
कस्तो? पक्ष र विपक्ष? दोषी ठहरिए मर्नेहरू ।
गलत साबित भए- बलिदान दिनेहरू ।
पक्षमा दिन/ विपक्षमा रात-
पक्षमा रात/ विपक्षमा दिन भयो ।
देख्यो पक्षले ननिदाईकन सपना !
देख्यो विपक्षले निदाएर सपना ।
पक्ष/विपक्ष सपनाकै दौडमा छन्
आफ्ना दुवै हातमा लड्डु चाहन्छन् ।
मिल्नेहरू पक्षमा भए
मिल्नेहरू नै विपक्षमा भए ।
तिम्रो र मेरो पक्ष/विपक्ष चाहिँ ?
गणतन्त्र कि ? अर्को कुनै तन्त्र ??
प्रतिक्रिया