पाइलाका चुम्बनको अब्बल ब्याटिङ

यसअघि २०६५ सालमा गीता रेग्मीद्वारा लिखित ‘परिचय’ कथा सङ्ग्रह प्रकाशित गरेर साहित्यिक आकाशमा देखा परेका दीपक अर्याल आफ्नो प्रथम पुस्तक नियात्रा विधाका साथ २०७८ मा झुल्केका छन् । उनका पाइलाले जहाँ जहाँ चुम्बन गरे त्यहीँ त्यहीँका कथा व्यथालाई टपक्क टिपेर पाठकलाई आफू हिँडेको गोरेटोमा डोर्याउन अब्बल साबित भएका छन् ‘पाइलाका चुम्बन’ यात्रा संस्मरणबाट । ‘पाइलाका चुम्बन’ले स्वदेश तथा विदेशका विभिन्न गाउॅं शहरका कथालाई सलल बग्ने भाषामा प्रस्तुत गरेबाट दीपक जीको नियात्रा कृतिले पहिलो ब्याटिङमै चौका हानेको छ भन्दा अतिशयोक्ति नहोला । यो ब्याटिङलाई शाानदार साजसज्जा गरेर मैदान वनाउने ओरियन्टल पब्लिकेसनलाई हार्दिक धन्यवाद !
स्वदेश तथा विदेश भ्रमण गरेर दुई खण्डमा बाँडिएको कृतिमा लेखक जुन जुन स्थानमा पुगे, त्यहाँको सविस्तार वर्णन छ ,ऐतिहासिक वर्णन छ । स्वदेशको विकास र विदेशको विकासलाई दाँजेर हेर्दै देशबाट युवाहरूलाई कसरी पलायन हुन नदिने त्यसको स्वाभिमानी हुटहुटी पनि पुस्तकमा पाईन्छ । सुख र सम्वृद्धिको खोजीमा विदेश पलायन भएका आफन्तहरूले नेपाल किन फर्किने ? भन्ने प्रश्न तेर्साउँदै अनेकौं उप प्रश्नहरूको वाण सोझ्याउँदै भन्छन्- ‘जनताबाट उठाएको करबाट संकलित रकमबाट तलब भत्ता खाएर जनताको सेवा गर्न बसेका कर्मचारीहरू जनताकै काम गर्नका लागि दस्तुर माग्छन् । जनताको करको पैसावाट राजनैतिक नेताहरू विदेशका महङ्गा अस्पतालमा औषधोपचार गर्छन् । अनि त्यहाँ के के लागि कर तिर्न आउने ? नेपालमा न काम छ न कामको ईज्जत नै छ।’ आफ्ना स्वजनहरूले यी र यस्तै प्रकारका प्रश्न गरिरहंदा पनि लेखक आफ्नो देश प्रेमप्रति नतमस्तक छन् । कसरी युवाहरूलाई स्वदेशमै थाम्न सकिन्छ दिनरात मथिङ्गल खियाई रहन्छन् । देश राजनीति र राजनेताबाट गाइड हुनुपर्ने हो तर हामीले चुनेर पठाएका जनप्रतिनिधि नै जिम्मेवार नभएपछि हाम्रो व्यवस्था फेरिए पनि अवस्था ज्यूँ का त्यूँ छ भन्ने चिन्ताले लेखकको निद्रा उडाएको महशुस हुन्छ ।
दक्षिण कोरिया भ्रमणका सिलसिलामा त्यहाँका गाऊॅं शहर डुल्दा स्थानिय युवाहरूसंग लेखकको राम्रै हिमचिम हुन्छ । साठीको दशकसम्म नाजुक आर्थिक अवस्था भएका कोरियनहरू एकाएक नवधनाढ्यको पंक्तिमा कसरी उभिए ? कोरियन युवाले लेखकलाई दिएको जवाफ यस्तो थियो ‘सीप र ज्ञान भएका युवाहरूलाई देशभित्रै रोक्न सक्नुपर्छ । काम अनुसारको दाम र सीप प्रदर्शन गर्ने उचित अवसर पाएमा कुनै पनि युवा देशबाट पलायन हुँदैनन्। आफ्नो देश, आफ्नो भाषा ,परिवार र आफु जन्मेको माटो छाडेर विदेशिन कसलाई मन लाग्छ ? यो पनि बुझ्नु पर्छ देश बनाउने आर्किटेक्ट त्यही देशका युवाशक्ति हुन्। हामी कोरियनहरू अहिले पनि दिनको चौध घन्टा काम गर्छौं । झन्डै छ घन्टा देशको लागि निःशुल्क श्रम गरिरहेका छौं ।’
कोरियन युवाको यी भनाईले दीपकजीलाई झकझोर बनायो । प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद सानोठिमी भक्तपुरमा कार्यरत लेखकको मनमा युवाहरूलाई व्यावसायिक तालिम दिएर स्वदेशमै रोजगार दिने हुटहुटी त बेला बेलामा जागेकै हो तर नीति निर्माण तहमा बस्नेहरूको अन्तरआत्मा देखि यो हुटहुटी नचल्दासम्म नेपालको संवृद्धि असम्भव प्राय: हुन्छ । गाउॅं खाली छ ,वस्ति खाली छ । युवा भेट्न काठमाडौँको नयाँ बस पार्क वा त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलको प्रतिक्षालय कुर्नु पर्ने अवस्था छ । दीपक अर्यालजीले आफ्नो नियात्रामा ठाउॅं विशेषको मात्र होइन मान्छेका अनुहार पढेर रोचक वर्णन गरेका छन् । मान्छे होस् वा देश होस् त्यसको कथा व्यथालाई साहित्यिक परिधानले सिंगारेर त्यसलाई पठनीय र मननीय बनाएका छन्। भूगोलका कुरा, ईतिहासका कुरा, विकासका कुरा ,विनासका कुरा ,मान्छेका कथा व्यथाका कुरा । यात्रा साहित्य लेखकको पहिलो यात्रा भएकाले हुन सक्छ यदाकदा ईतिहास र राजनीतिले ओभरल्याप गरेको हो कि भन्ने आभास हुन्छ । जे होस् पुस्तक पढ्न बसेपछि हरेक खण्ड रोचक लाग्छ । आफ्नै देशका सुन्दर ठाउॅंहरूको भ्रमणको वर्णनले पुस्तकलाई झनै रोचक बनाएको छ । पाठकलाई तत् तत् स्थानमा पुर्याउन सफल देखिन्छ ।
स्रोत : शब्द पथ
प्रतिक्रिया