बुधबार, वैशाख १०, २०८२

नेप्से २४ सय १५ दशमलव २४ अंकमा, ५ अर्ब २६ करोड सेयर किनबेच

नेपालखोज २०७९ वैशाख २ गते १०:२८

काठमाडौं । यो साता नेप्से सूचक संगैं कारोबार रकम पनि खुम्चिएको छ । नेप्सेको नियमित कारोबार कक्ष पाँच कार्य दिन नै खुनुपर्नेमा दुई दिन सार्वजनिक बिदा परेका कारण नेप्से तीन कार्य दिन मात्र खुलेको थियो ।

कारोबार खुलेको दिनमा पनि दोस्रो र तेस्रो दिन नेप्से लगातार घटेको थियो भने चौथो दिन नेप्से बढेको थियो । सोही कारण यो साता नेप्से सूचक तथा कारोबार रकम दुवै खुम्चिएको हो ।

जसअनुसार नेप्से दुई हजार चार सय १५ दशमलव २४ अंकमा खुम्चिदा सेन्सिटिभ इन्डेक्स पनि चार सय ५६ दशमलव नौ अंकमा खुम्चिएको छ । सातामा दुई सय ३७ कम्पनीको एक लाख एक हजार २८ पटक सेयर किनबेच भएका छन् । सोअनुरूप एक करोड २२ लाख ७७ हजार पाँच सय एक कित्ता सेयर खरिद–बिक्री हुँदा कुल कारोबार रकम पाँच अर्ब २६ करोड १४ लाख ६९ हजार एक सय ५० रुपैयाँमा सीमित हुन पुगेको छ ।

गत साता भने यस्तो कारोबार रकम नौ अर्ब ८३ करोड ११ लाख ६० हजार सात सय २३ रुपैयाँ थियो । उक्त साता दुई सय २६ वटा कम्पनीको एक लाख ८६ हजार दुई सय ५८ पटकको कारोबारमा दुई करोड २३ लाख ४२ हजार ६ सय ४० कित्ता सेयर किनबेच भएका थिए ।

कारोबार खुलेका दिनहरूमध्येमा यो साता दोस्रो दिन ४४ दशमलव ५६ अंकले घटेर दुई हजार चार सय १९ दशमलव ८० अंंकमा सीमित हुन पुगेको नेप्से चौथो कारोबार दिन भने ३० दशमलव २४ अंकले बढेर दुई हजार चार सय १५ दशमलव २४ अंकमा पुग्न सफल भएको थियो ।

यसैगरी दोस्रो दिन आठ दशमलव ८७ अंंकले घटेर चार सय ५४ दशमलव ८७ अंकमा सीमित हुन पुगेको सेन्सिटिभ इन्डेक्स पनि चौथो कारोबार दिन ६ दशमलव ९७ अंंकले बढेर चार सय ५६ दशमलव नौ अंकमा पुग्न सफल भएका थियो ।

नेप्सेमा यो साता नबिल बैंक, हिमालयन डिस्ट्रिलरी प्रालि, नेपाल टेलिकम आदिको बढी रकम कारोबार भएका छन् भने नेपाल टेलिकम, नेसनल हाइड्रो पावर कम्पनी, नबिल बैंक आदिको बढी संख्यामा सेयर किनबेच भएका छन् । बजार पुँजीकरणका आधारमा भने यो साता पनि नेपाल टेलिकम, नबिल बैंक, नेपाल लाइफ इन्स्योरेन्स कम्पनी अगाडि देखिएका छन् ।

प्रतिक्रिया