सोमबार, वैशाख ८, २०८२

मेरो मित्र

डिल्ली ढकाल २०७९ वैशाख ३ गते ८:३९

मलाई मेरो मित्र खुब मन पर्छ
म उसलाई आफूजत्तिकै माया गर्छु ।
उसलाई चाहिँदा म हात दिन्छु, साथ दिन्छु,
ऊ खुसीले गदगद हुन्छ ।
मलाई अलिकति गाह्रो-सारो पर्यो भने
ऊ मेरो नजिकै पर्दैन
किनभने,
ऊ पनि मलाई औधी ‘माया’ गर्छ ।
त्यतिबेला म सोच्छु,
मलाई दुखेको बेला,
गाह्रो भएको बेला
उसलाई पनि गाह्रो हुँदो हो,
त्यसैले ऊ मलाई ‘हेल्लो’ भन्न पनि सक्दैन
किन भने ऊ मेरो मित्र हो ।
म उसलाई ‘खान’ बोलाउँछु,
टलक्क टल्केका कांचको ग्लासहरू
हामी आवाज आउने गरी जुधाउँछौं
ऊ हँसिलो हुन्छ, र जोडले हाँस्छ
उसको हाँसोको आवाजले
मेरा ढलोट र काँचका बर्तनहरू
लामो सुस्केर हालेर बिस्तारै सुस्ताउँछन् ।
यदाकदा म
कामको, परिवारको अनि स्वास्थ्यको
झमेलामा हुन्छु,
त्यति बेला फेरि ऊ परै बस्छ
र फोन उठाउने कष्ट पनि गर्दैन
सायद ऊ मेरो दु:ख देख्न सक्दैन
मेरो केही बिग्रियो, भत्कियो भने
बल्ल, ऊ मुसुक्क हाँस्छ,
दोर्याएर, तेहर्याएर उही कुरा सोधिरहन्छ
किन भने ऊ मेरो मित्र हो ।
म चिटिक्क परेको उसलाई मन पर्दैन,
मैले टाई लगाएको, सुटमा ठाँटिएको
राम्रो गाडी चढेको उसले देख्यो भने
ऊ न्याउँरो अनुहार लगाउँछ,
ठसक्क पर्छ ।
विचरा
उसलाई मेरो पिर लाग्दो हो
म राम्रो हुँदा,
अरूले आँखा लगाइदिने त्रास
उसमा आउँदो हो
किन भने ऊ मेरो मित्र हो।

प्रतिक्रिया