खुल्याे विन्ध्यवासिनीको आईपीओ, कति कित्ता भर्ने

काठमाडौं । विन्ध्यवासिनी हाइड्रोपावर डेभलपमेन्ट कम्पनी लिमिटेडले साधारण सेयर आईपीओ खुला गरेको छ । कम्पनीले आयोजनाबाट असर पर्नसक्ने आसपासका बासिन्दाका लागि आईपीओको बिक्री खुलाएको हो । आजदेखि प्रतिकित्ता १०० रुपैयाँ अंकित १० करोड रुपैयाँ मूल्यबराबरको १० लाख कित्ता प्रारम्भिक सार्वजनिक निष्कासन आईपीओको बिक्री खुला गरेको हो ।
कम्पनीले आफ्नो जारी पुँजी एक अर्ब रुपैयाँको १० प्रतिशतले हुने १०० अंकित दरका १० लाख कित्ता सेयरमध्ये आयोजनाको मुख्य संरचना क्षेत्रमा पर्ने लमजुङको क्व्होलोसोथर गाउँपालिका वडा ५, ६ र ७ तथा कास्कीको मादी गाउँपालिका ८ र ९ का बासिन्दाका लागि सात लाख कित्ता सेयर सुरक्षित गरेको हो । बाँकी तीन लाख कित्ता सेयर क्व्होलासोथार र मादी गाउँपालिकाका अन्य वडाका बासिन्दालाई छुट्याइएको कम्पनीले जनाएको छ ।
सार्वजनिक आह्वान पत्रअनुसार आयोजना आसपास क्षेत्रमा बसोबास गर्ने स्थानीय बासिन्दाले आजदेखि यही वैशाख २५ सम्म र सो अवधिमा मागबमोजिम आवेदन नपरे आगामी जेठ ९ गतेसम्म न्यूनतम १० कित्तादेखि अधिकतम एक लाख कित्ता सेयर खरिदका लागि आवेदन दिन पाउनेछन् । कम्पनीले लमजुङको क्व्होलासोथार गाउँपालिका तथा कास्कीको मादी गाउँपालिका भएर बहने रुदी खोलामा ‘रुदी ए आठ दशमलव आठ मेगावाट‘ र ‘रुदी बी ६ दशमलव ६ मेगावाट’ क्षमताका दुई आयोजना निर्माण गरिरहेको छ ।
स्थानीयले नेपाल धितोपत्र बोर्डबाटअनुमति प्राप्त आस्बा सेवामा सहभागी बैंक तथा वित्तीय संस्थाबाट आस्बा प्रणालीमार्फत सेयर खरिदका लागि आवेदन दिन सक्नेछन् । साथै सानिमा बैंकको कास्की जिल्लामा रहेको बिरौटा तथा पोखरा शाखा, सिभिल बैंकको लमजुङको मालिङग शाखा, कामना सेवा विकास बैंकको कास्की तथा बेंसीसहर शाखा, पोखरा फाइनान्सको पोखरा तथा बेंसीसहर शाखा र आयोजनाको कार्यलयस्थलबाट आवेदन दिन सकिने धितोपत्र निष्कासन तथा बिक्री प्रबन्धक सानिमा क्यापिटल लिमिटेडले जनाएको छ । कम्पनीलाई केयर रेटिङ नेपालले ‘केयरनपी-आईआर बीबी प्लस ईस्युअर’ ग्रेडिङ प्रदान गरेको छ । -रासस
प्रतिक्रिया