बुधबार, वैशाख १०, २०८२

सूचक तथा कारोबार रकम दुवै बढ्यो, ९५ अंकले बढेको नेप्सेमा २ अर्ब ५३ करोडको सेयर किनबेच

नेपालखोज २०७९ वैशाख ११ गते १५:४०

काठमाडौं । साताको पहिलो कारोबार दिन आइतबार नेप्से उच्च अंकले बढेको छ । नेप्से आज ९५ दशमलव ४६ अंकले बढेर २४ सय २० दशमलव ९१ अंकमा पुगेको छ । सेन्सिटिभ इन्डेक्स पनि १७ दशमलव ७४ अंकले बढेर चार सय ६० दशमलव ८८ अंकमा पुगेको छ ।

दुई सय ३८ कम्पनीको ४३ हजार चार सय ५० पटकको कारोबारमा ६६ लाख ३९ हजार पाँच सय चार कित्ता सेयर खरिद–बिक्री भएका छन् । सोही खरिद–बिक्रीका आधारमा आज कुल सेयर कारोबार रकम दुई अर्ब ५३ करोड १२ लाख ७५ हजार पाँच सय ९३ रुपैयाँ पुगेको छ ।

नेप्सेमा आज १३ समूहको कारोबार भएकामा १३ वटैको सूचक बढेर नेप्से पूरै हरियो भएको छ । सोमध्ये वाणिज्य बैंक समूहको सूचक ४२ दशमलव १२ अंकले बढेर १६ सय ११ दशमलव सात अंकमा चढेको छ । विकास बैंक समूहको सूचक दुई सय ६२ दशमलव ३७ अंकले बढेर ४२ सय ५८ दशमलव ३४ अंकमा चढेको छ ।

जलविद्युत् समूहको सूचक एक सय ८९ दशमलव शून्य नौ अंकले बढेर २७ सय ७२ दशमलव ५१ अंकमा चढेको छ । निर्जीवन बिमा समूहको सूचक चार सय ३४ दशमलव ३७ अंकले बढेर १० हजार नौ सय ६१ दशमलव ९३ अंकमा चढेको छ । यसैगरी जीवन बिमा समूहको सूचक चार सय २३ दशमलव ३७ अंकले बढेर १३ हजार ३५ दशमलव ९३ अंकमा चढेको छ । फाइनान्स, ट्रेडिङ, होटेल तथा पर्यटन, उत्पादनमूलक, अन्य, लघुवित्त, सामूहिक लगानी कोष र लगानी समूहहरूको सूचक पनि उच्च अंकले बढेका छन् ।

नेप्सेमा आज युनिभर्सल पावर कम्पनीको प्रतिकित्ता सेयर मूल्य १० प्रतिशतले बढेर दुई सय ६१ रुपैयाँ ८० पैसा अन्तिम मूल्यमा प्रतिकित्ता सेयर कारोबार हुँदा नेपाल इन्भेष्टमेन्ट बैंकको ऋणपत्रको प्रतियुनिट सेयर मूल्य नौ दशमलव ८९ प्रतिशतले घटेर आठ सय ५२ रुपैयाँ ४० पैसा अन्तिम मूल्यमा प्रतिकित्ता सेयर कारोबार भएको छ ।

यसैगरी आज सानिमा बैंकको संस्थापक सेयरतर्फ प्रतिकित्ता एक सय ८५ रुपैयाँ अन्तिम मूल्यमा २२ करोड १० हजार रुपैयाँको सेयर कारोबार भएको छ । यो आज भएका कम्पनीहरूको कारोबार रकममध्ये सबैभन्दा बढी हो ।

प्रतिक्रिया