राजनीतिमा युवा अग्रसरताले मुलुकलाई राहत मिल्ला ?

पछिल्लो समय हेर्ने हो भने राजनीतिमा युवाको सहभागिता बढी देखिन थालेको छ । पार्टीको भ्रातृ संगठन र विद्यार्थी संगठनको असर पनि हुन सक्छ । जे होस युवाहरू सामाजिक सन्जाल र पार्टीको कार्यक्रममा झन्डा बोक्नेदेखि टाउकोमा झन्डा बेरेर सबै पार्टीका समर्थनमा हूल बाँधेर उपस्थित भएको हामीले सजिलै देख्न सक्छौं ।
युवा भन्नेबित्तिकै जोस र ऊर्जावान् बुझिन्छन् भने धैर्य र सहनशीलतामा कमजोरी देखिन्छ । युवाहरूको राजनीतिक यात्रा भ्रातृ संगठनमा र विद्यार्थी संगठनमा आबद्ध भएर अगाडि बढ्ने गर्छ । स्वतन्त्र विचार राख्ने युवाहरूको पनि एउटा हूल छ तर पार्टीका कार्यकर्ताभन्दा धेरै कम अंकमा भेटिन्छन् । उनीहरूको चिन्तन कुन पार्टीले जित्छ/हार्छ कुन पार्टी सरकारमा जाला भन्ने कुरामा रहँदैन, समग्र देश विकासका निमित्त र देशको हक हितको निमित्त राजनीतिक दलहरू स्थापित हुनु पर्छ भनेर खबरदारी गरिरहन्छन् ।
अब देश युवाले बनाउँछन्, युवाको हातमा दिनुपर्छ भन्ने जता पनि सुन्न पाइन्छ तर धेरैजसो राजनीतिमा सक्रिय भएका युवाहरू पार्टीको गुनगान मात्र गाउन व्यस्त छन् । हजुरहरूलाई युवा देशका लागि हुन कि पार्टीका लागि भन्ने कुरामा संका लाग्दैन ? हामीले विद्यार्थी आन्दोलनलाई हेर्दा त्यहाँ पार्टीको विज्ञापन भएजस्तो महसुस गर्न पाएका छनौं र ? परिवार बलियो हुन घरमूलीको गल्तीहरूलाई औँलाएर सही बनाउने भूमिका परिवारको सदस्यको हुने गर्छ तर हाम्रो परिपाटी छिमेकीको गल्तीहरू औंलाएर ऊभन्दा आफू राम्रो हो भन्ने छ ।
अझ भनौं आफ्नो आङको भैँसी नदेख्ने अरूको आङको जुम्रा पनि देख्ने भन्ने उखान हाम्रो राजनीतिक पार्टी र उनका कार्यकर्तालाई सजिलै इंगित गर्न मिल्ने उदाहरण हो । कुनै राजनीतिक पार्टीमा आस्था राख्नु गलत होइन तर गलतलाई पनि ठीक हो भन्नु गलत नै मानिन्छ । अहिलेको अवस्थामा पार्टीको सिद्धान्त बोकेर हिँड्ने न कुनै राजनीतिक पार्टी छन् न त कार्यकर्ताले सुधार्न भूमिका नै खेलेका छन् ।
युवा हुन या वयस्क आफ्नो पार्टीले गरेको नराम्रो निर्णयमा विरोध गर्न नसक्नु उमेरको होइन राजनीतिक परम्पराको दोष हैन र ? आफ्ना अग्रजको नराम्रो निर्णयलाई नराम्रो हो भन्ने कुन युवा अघि बढेका देख्नु भएको छ ? युवा नेता भनेर धेरै आश गरिएका नेताहरूको सरकारमा रहिरहँदा पदका लागि कहिले कसको कहिले कसको समर्थन गरेको हामीले धेरैपटक अनुभव गर्न पाएका छौं । पछिल्लो समय राजनीतिमा युवाहरूको अग्रसरता देखिएता पनि आफू बन्नका लागि हो कि देशका लागि हो भन्ने कुरामा ठूलो प्रश्न चिह्न भने यथावत् छ ।
जनताको समर्थनबिना कुनै नेताको पनि अस्तित्व रहँदैन तर हामी बार-बार किन उसैको पछि लागिरहेका हुन्छौं ? जब चुनाव नजिकिँदै जान्छ किन हामी आफ्नो बाबु आमा नै यिनै नेताहरू हुन् भने जस्तो गरी सहयोग र समर्थन गर्नमा लाग्छौं ? किन हामीले उनीहरूको गल्तीलाई देख्दैनौं ? सानो जमात हुन्छ खबरदारी गर्न खोज्ने जो कुनै पार्टीमा आवद्ध नभएको तर उनीहरूको सुनवाइ कसले गर्ने ? आज समर्थन गर्छौं भोलि विरोध गर्छौं अनि चुनाव आउँछ यिनै नेतालाई जिताउन भोट माग्दै हिँड्छौं अनि हामी छाती फुलाएर युवा भन्छौ तर उनीहरूको कुरामा हाम्रो असहमति कहिल्यै हुदैन, जे बोले पनि ताली बररर बजाउने र जिन्दावाद-मुर्दावादको नारा लगाएर मात्र देश बन्ने भए तपाईं हामी राजनीतिमा अग्रसर हुनुको अर्थ के ? आफू बलियो बन्नका लागि कि देश बनाउनका लागि ?
प्रतिक्रिया