२,३५६ अंकमा नेप्से राेकिँदा कारोबार रकम आठ अर्ब २० करोडमा सीमित

काठमाडौं । बैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनको मिति नजिकिंदै जाँदा सेयर बजारमा यसको प्रभाव देखिन थालेको छ । आमसेयर लगानीकर्ताहरु राजनीतिक दलका नेता, कार्यकर्ता, भोटर एवं निर्वाचनमा उम्मेद्वारसमेत रहेको हुँदा उनीहरुको अहिलेको प्राथमिकता सेयर बजारभन्दा पनि चुनाव देखिएको छ । सोही कारण यो समूहले अहिले नियमित सेयर कारोबारभन्दा पनि चुनावी अभियानमा रकम खर्च गर्न थालेको छ ।
जसले गर्दा सेयर बजारमा यो साता सामान्य सुधार देखिएपनि कारोबार रकम भने खासै बढ्न सकेको छैन् । नियमित कारोबारका लागि यो साता नेप्से पाँच कार्य दिननै खुलेको थियो । सोमध्ये दुई कार्य दिन नेप्से बढेको थियो भने तीन कार्य दिन नेप्से घटेको थियो । तर नेप्सेको यो घटाई र बढाईको असर कारोबार रकममा खासै देखिएन ।
यो साता नेप्से २३ सय ५६ दशमलव १७ अंकमा पुगेर रोकिएको छ भने सेन्सिटिभ इन्डेक्स पनि चार सय ५० दशमलव २४ अंकमा अंकमा पुगेर रोकिएको छ । जसअनुसार सातामा कुल दुई सय ३९ वटा कम्पनीहरुको एक लाख ६७ हजार सात सय ९८ पटकको कारोबारमा दुई करोड २५ लाख ६६ हजार ६० सेयर खरिद–बिक्री भएका छन् ।
सोही आधारमा यो साता कुल कारोबार रकम आठ अर्ब २० करोड ५७ लाख ८२ हजार ३६ रुपैयाँ पुग्न सफल भएको छ । यो कारोबार रकम गत साताको तुलनामा एक अर्ब रुपैंयाँले बढी हो । नेप्सेमा गत साता दुई सय ३३ वटा कम्पनीहरुको सेयर कारोबार भएको थियो ।
जसअन्र्तगत एक लाख ५७ हजार चार सय छ पटकको कारोबारमा एक करोड ८० लाख ५७ हजार सात सय ३४ सेयर किनबेच हुँदा कुल कारोबार रकम सात अर्ब ३८ करोड ६१ लाख ८८ हजार छ सय ७३ रुपैयाँ पुुगेको थियो ।
यो साता नेप्से पाँच कार्य दिन नै खुल्ला रहेकोमा पहिलो र चौंथो दिन नेप्से बढेको थियो भने दोस्रो, तेस्रो र पाँचौं दिन घटेको थियो । सो अनुसार पहिलो दिन ९५ दशमलव ५२ अंकले बढेर दुई हजार चार सय २० दशमलव ९६ अंकमा पुग्न सफल भएको नेप्से अन्तिम कारोबार दिन २० अंकले घटेर दुई हजार तीन सय ५६ दशमलव १७ अंकमा खुम्चिन पुगेको थियो । यसबीचमा पनि चौंथो कार्य दिन नेप्से बढेको थियो भने बाँकी दिन घटेको थियो ।
यसैगरी सेन्सिटिभ इन्डेक्स पनि पहिलो दिन १७ दशमलव ७४ अंंकले बढेर चार सय ६० दशमलव ८८ अंकमा पुग्न सफल भएकोमा अन्तिम दिन चार दशमलव ३२ अंंकले घटेर चार सय ५० दशमलव २४ अंकमा खुम्चिन पुगेको थियो । यस बीचमा चौंथो कार्य दिन सेन्सिटिभ इन्डेक्स बढेको थियो भने बाँकी दुई कार्यदिन घटेको थियो ।
यो साता हिमालयन डिष्ट्रिलरी प्राली, नेपाल टेलिकम, नबिल, बैंक आदिको बढी रकम कारोबार भएको छ भने नेशनल हाईड्रो पावर कम्पनी, नबिल बैंक आदिको बढी संख्यामा सेयर किनबेच भएको छ । बजार पुँजीकरणको आधारमा भने यो साता पनि नेपाल टेलिकम, नबिल बैंक, नेपाल लाइफ इन्स्योरेन्स कम्पनी अगाडि परेका छन् ।
प्रतिक्रिया