आइतबार, वैशाख ७, २०८२

उपमेयरकी उम्मेद्‍वार सुनीताविरुद्ध अख्तियारमा उजुरी, ‘सर्टिफिकेट फेक’

नेपालखोज २०७९ वैशाख २० गते ११:१८

काठमाडौं । स्थानीय तह निर्वाचनका लागि नेकपा एमालेबाट काठमाडौं महानगरपालिकाकी उपमेयर उम्मेद्‍वार सुनीता डंगोलविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी परेको छ। डंगोलविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा शैक्षिक प्रमाणपत्र ढाँटेर विज्ञ सल्लाहकारको नियुक्ति लिएको भन्दै उजुरी दर्ता भएको हो ।

उजुरीमा डंगोलले स्नातकोत्तर योग्यता प्राप्त गरेको भनी ढाँटी ५ वर्ष काठमाडौं महानगरको सहरी विकास परियोजनाको सल्लाहकार नियुक्ति लिई तलब सुविधा लिएको आरोप छ । समाजशास्त्र विषयमा स्नातक तह उत्तीर्ण गरेको व्यक्ति कुनै पनि प्राविधिक तर्फको सल्लाहकार हुन नसक्ने उजुरीमा दाबी गरिएको छ । अख्तियारमा डंगोलविरुद्धको उजुरीमा भनिएको छ, ‘काठमाडौं महानगरपालिकामा रहेको सहरी विकास परियोजना जस्तो प्राविधिक विषयको ज्ञाता हुन पर्ने निकायमा समाजशास्त्र विषयमा स्नातक गरेको व्यक्ति काठमाडौं महानगरपालिका वडा २१ फसिगाँ बस्ने सत्तु डंगोलकी छोरी सुनिता डंगोलले आफूले प्राप्त नगरेको स्तातकोत्तर योग्यता प्राप्त गरेको छु भनि आफ्नो शैक्षिक योग्यता ढाँटी विगत ५ वर्षदेखि काठमाडौं मनपाको सहरी विकास परियोजनाको सल्लाहकारमा नियुक्त लिइ मासिक रु ८० हजार गैह्र कानुनी रुपमा प्राप्त गर्नु भएको छ ।’

डंगोलविरुद्ध भ्रष्टाचार निवारण ऐन २०५९ को दफा १६ को कसुरमा सजय गराई उनले प्राप्त गरेको रकम तथा जरीवानासमेत असुल गराउन निवेदनमा माग गरिएको छ। काठमाडौं महानगरपालिकामा रहेको सहरी विकास परियोजना जस्तो प्राविधिक विषयको ज्ञाता हुनुपर्ने र स्नातकोत्तर अध्ययन गरेको हुनुपर्नेमा समाजशास्त्र विषयमा स्नातक गरेको व्यक्तिलाई नियुक्ति दिइएको भन्दै गैरकानूनी आर्थिक लाभ लिएको आरोप छ । उजुरी १६ वैशाखमा दर्ता गरिएको छ ।

उजुरीमा डंगोलको नियुक्तिको सम्पूर्ण फाइल काठमाडौं महानगरबाट झिकाई भ्रष्टाचार निवारण ऐन अनुसार कसूर सजाय गराई प्राप्त गरेको रकम तथा जरिवाना समेत असुल उपर गराउन माग गरिएको छ ।

अख्तियारमा उक्त उजुरीको दर्ता नम्बर सी-०३२५३१, ०७९-०१-१६, १५२६२३८५ छ ।

प्रतिक्रिया