‘रगत चुस्नेलाई होइन, दान गर्नेलाई भोट’

काठमाडौं । विगत लामो समयदेखि समाज सेवामा सक्रिय तथा नेपालमा सबैभन्दा धेरैपटक रक्तदान गरेर रेकर्ड बनाएका शतक रक्तदाता प्रेमसागर कर्माचार्यले काठमाडौं महानगरपालिकाको मेयर पदमा उम्मेदवारी दिएका छन् ।
३० वैशाखमा हुने स्थानीय तहको निर्वाचनमा कर्माचार्यले ‘नेपाल उन्नत पार्टी’का तर्फबाट महानगरको मेयर पदमा उम्मेद्वारी दिएका हुन् । उनको चुनाव चिह्न खुला किताब हो ।
रक्तदाता समाजका केन्द्रीय अध्यक्षसमेत रहेका ५७ वर्षीय कर्माचार्यले हालसम्म १६९ पटक रक्तदान गरेका छन् । त्यसैले पनि उनी महानगरवासीका लागि परिचित छन् । रगत अभावले मृत्युको मुखमा अस्पतालमा छट्पटाउँदै गर्दा कर्माचार्यले रगत व्यवस्थापन गरी धेरैको ज्यान जोगाएका छन् । त्यसैले पनि उनको उम्मेद्वारीलाई अर्थपूर्ण रुपले हेरिएको छ, किनभने ब्लड बैंकमा समेत रगत अभाव हुँदा उनले व्यवस्थापन गरिदिन्छन् । आपतकालीन अवस्थामा कामठमाडौंका ठूला अस्पतालका डाक्टरहरुले रगतको खाँचो पर्दा सम्झने नाम प्रेमसागर हो ।
रगत कतै व्यवस्थापन हुन नसकेपछि अन्तिममा कर्माचार्यसँग धैरै मानिस ठोकिन्छन् । यसरी उनले हजारौंको सेवा गरेका छन् । सरल, शान्त र दयालु स्वभावका कर्माचार्य रगत व्यवस्थापनका लागि चौबीसै घण्टा खट्दै आएका व्यक्ति हुन् ।
रगत व्यवस्थापन, रक्तदान कार्यक्रममा व्यस्त देखिने कर्माचार्य यति बेला चुनावी प्रचारमा व्यस्त छन् । महानगरवासीलाई निःशुल्क बत्ती, पानी, स्वास्थ्य र शिक्षा दिने उनका महत्त्वकांक्षी योजना हुन् । साथै, भूमिहीनलाई आवासको व्यवस्था गर्ने उनको प्रतिबद्धता छ । महानगरवासीले देश र जनताको रगत चुस्नेलाई भन्दा आवश्यक पर्दा रगत दिनेलाई मतदान गरी आफूलाई विजयी गराउनेमा कर्माचार्य आशावादी छन् ।
काठमाडौं महानगरपालिकाको मेयरमा कर्माचार्यसहित ५६ जनाले उम्मेद्वारी दर्ता गराएका छन् ।
प्रतिक्रिया