शनिबार, वैशाख ६, २०८२

कांग्रेसबाट विद्रोह गरी नीलकण्ठको उपमेयरमा कल्पनाको स्वतन्त्र उम्मेद्‌वारी, चुनाव चिह्न गुलाबको फूल

नेपालखोज २०७९ वैशाख २० गते १७:११

काठमाडौं । धादिङको निलकन्ठ नगरपालिकामा उपमेयरको पदमा कल्पना अधिकारीले स्वतन्त्र उम्मेदवारी दिएकी छिन् । रिपोर्टर्स क्लब नेपालमा बुधबार पत्रकार सम्मेलन गर्दै नेपाली कांग्रेसकी नेतृ अधिकारीले आफूले पार्टी संगठनको लागि स्वतन्त्र उम्मेदवारी दिएको बताइन् ।

पत्रकार सम्मेलनमा अधिकारीले कांग्रेसमा निरन्तर २० वर्षदेखि खटिएको उल्लेख गर्दै पार्टी, संगठन, समाज, सबै दाजुभाई, दिदी बहिनीलाई मर्न नदिन स्वतन्त्र उम्मेदवारी दिएको स्पष्ट पारिन् । उनले भनिन्, ‘अब जनताहरुले सोच्नुपर्ने बेला आएको छ ।’

आफूले बोलेको आवाज समग्र महिला र युवाहरुको आवाज भएको उनले बताइन् । समग्र महिला र युवाहरुको खोला जस्तै आँशु बगिरहेको भन्दै २० वर्ष लामो काँग्रेसको राजनीतिलाई तिलान्जली दिएर स्वतन्त्र उम्मेवारको रुपमा उभिएको बताइन् । उनले आफ्नो उम्मेदवारी पार्टीलाई खबरदारी गर्नका लागि भएको बताइन् । उनले सत्ता साझेदार दल बीचको चुनावी गठबन्धन प्रति असन्तुष्टि जनाउँदै उम्मेदरवारी आफ्नो निम्ती नभई संगठनको बचाउको लागि भएको दाबी गरिन् । उनले भनिन्, ‘पार्टीभित्र बसेर दलिय भागवन्डामा आफ्नो पार्टीलाई लिलाम गर्ने होकी, संगठन पनि बिग्रने हो की भन्ने विषयको खबरदारी मैले गर्न खोजेको हो । म एउटा मरौला तर मेरो संगठन, समाज, सबै दाजुभाई र दिदी बहिनीलाई मर्न दिन हुँदैन् ।’

लामो समयदेखि आफु कांग्रेसको राजनीतिमा लागेको उल्लेख गर्दै आफूले रुख चिन्हमा खुशीसाथ लड्न पाउनुपर्नेमा नपाएको गुनासो गरिन् । रुख चिन्हमा लड्ने आफ्नो अधिकार भएको दाबी गर्दै पार्टीले संविधानले निर्धारण गरेको ३३ प्रतिशत महिलाको कोटा कटौती गरेको उनले टिप्पणी गरिन् । उनले प्रश्न गरिन्, ‘संविधानले निर्धारण गरेको ३३ प्रतिशत महिलाको आरक्षण कहाँ गयो ? बांगोबाट घुमाएर चोरी तरिकाबाट महिलाहरुलाई सिध्याउने काम भयो ।’

अधिकारीले जनताहरु आफूलाई मत दिन अत्यन्त्तै आतुर रहेको पनि जिकिर गरिन् । पछिल्लो समय आफ्नै जीवनको विभिन्न संघर्षले पनि निकै बलियो हुँदै गएको उल्लेख गर्दै धेरैपटक समग्र महिलाको हकहित, युवा तथा दलितको विषयलाई आफुले उठाउँदै आएको उनले सुनाइन् । ती विषयहरु साच्चिकै आज सम्म पनि सम्बोधन हुन सकेको भन्दै नेतृ अधिकारीले आपत्ति जनाइन् । उनले अब जनताले गल्ती नगरी मत दिनु पर्ने धारणा राखिन् । उनले आफ्नो मात्र नभएर हजारौ, युवा, जनजाती, महिलाको आवाज सम्झेर गुलाबको फूलमा मतदान गर्न सबैलाई आग्रह गरिन् । आफुले चुनाव जित्ने पनि विश्वास व्यक्त गरिन् । आफ्नो जित सम्पुर्ण धादिङवासीको जित हुने उनको भनाइ थियो ।

पार्टी संगठनबाट आफु टाढा हुन नखोजेको उनले स्पष्ट पारिन् । आफूले उम्मेदवारी दिन आँट गर्नुनै आफ्नो जित भएको उनको दाबी थियो । कसैको उस्कावटमा लागेर उम्मेदवारी नदिएको भन्दै गठबन्धनको विरोधी नभएको पनि स्पष्ट पारिन् । उनले उक्त पद अरु पार्टीलाई दिएपनि महिलालाई नै दिनपर्ने माग आफुले राखेको तर कसैले सुनुवाई नगरेको उनको भनाई थियो ।
अधिकारीले बाग्मती प्रदेश सरकारको साझेदारीमा, यातायातको साधन नविकरण धादिङमा राख्ने समेत प्रतिवद्धता व्यक्त गरिन् । उनले स्वास्थ्य क्षेत्रमा मानविय सेवा, नगरभित्र निःशुल्क एम्बुलेन्स सेवा दिने पनि उनले बताइन् । त्यस्तै, नगरपालिकामा एकल महिलालाई छहारी, एकल पुरुषलाई सामाजिक सुरक्षा भत्तामा भकारी भर्ने उनको प्रतिवद्धता छ ।

प्रतिक्रिया