उम्मेदवारले खर्च बैंक खाताबाट मात्रै गर्न पाउने

काठमाडौं । पालिका चुनावका उम्मेदवारले चुनावी क्रियाकलापको खर्च बैंक खातामार्फत मात्रै गर्न निर्वाचन आयोगले पुनस् सचेत गराएको छ । निर्वाचन आचारसंहिताअनुसार उम्मेदवारले चुनावी खर्च गर्दा बैंकमा खाता खोलेर मात्रै गर्नुगर्ने र खर्च गर्ने जिम्मेवार पदाधिकारी तोक्ने व्यवस्था कार्यान्वयन गर्न आयोगले सबै दल र उम्मेदवारलाई पुन: सचेत गराएको हो ।
त्यस्तै, पच्चीस हजार रूपैयाँभन्दा बढी आर्थिक सहयोग प्राप्त गर्दा बैंक वा वित्तीय संस्थामार्फत गर्नुपर्ने, व्यक्ति वा संस्थाबाट चन्दाको रूपमा नगद लिएमा त्यो रकम बुझेको रसिद वा भर्पाइ दिएर उम्मेदवारको वा राजनीतिक दलको बैंक खातामा जम्मा गर्नुपर्ने, खर्चको विवरण तथा बिल भरपाइ राख्नुपर्ने, आम्दानी तथा खर्चको विवरण प्रचलित कानुन बमोजिम आयोगले तोकेको ढाँचामा निर्वाचन कार्यालय वा आयोगमा बुझाउनु पर्ने पनि आयोगले जनाएको छ ।
तोकेको व्यवस्था विपरीत खर्च गर्ने क्रम चलिरहेकोमा ध्यानाकर्षण गराउँदै आयोगले आचारसंहिता कडाइका साथ कार्यान्वयन गराउन सबै मुख्य निर्वाचन अधिकृतको कार्यालय, निर्वाचन अधिकृतको कार्यालय, प्रदेश निर्वाचन कार्यालय तथा जिल्ला निर्वाचन कार्यालयलाई निर्देशन दिएको छ ।
त्यस्तै, आयोगले निर्वाचन आचारसंहिताका सबै बुँदाहरुको पूर्ण पालना गर्न सञ्चार माध्यामहरुलाई पुनः आग्रह गरेको छ । निर्वाचन आचारसंहिताको समाचार भन्ने तर दृष्य भने त्यस विपरित आउने काम भए त्यो खतरनाक हुने भन्दै त्यस्तो अवस्था आउन नदिन पनि आयोगले सञ्चार माध्यामहरुको गम्भीर ध्यानाकर्षण गराएको छ ।
प्रतिक्रिया