आइतबार, वैशाख ७, २०८२

भारतबाट घर फर्किनेको लर्को, भन्छन्- स्वदेशमै रोजगारीको व्यवस्था हुनुपर्छ

नेपालखोज २०७९ वैशाख २५ गते १५:०९

काठमाडौं । आगामी वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनका लागि छिमेकी देश भारतमा श्रमका लागि पुगेका नेपालीहरु फर्किने क्रम बढ्न थालेको छ । कञ्चनपुरको पश्चिमी सीमानाका गड्डाचौकीबाट घर फर्कने नेपालीको संख्या दिनदिनै बढ्न थालेको हो ।

गड्डाचौकी नाकाबाट अन्य समयमा प्रतिदिन १ सयदेखि २ सय नेपालीहरु भारतबाट फर्किने गरेको भए पनि अहिले त्यो संख्या बढेर दिनमा ५ सयभन्दा माथि पुगेको छ । कञ्चनपुरको गड्डाचौकी हेल्थ डेस्कका इन्चार्ज विकास भट्टले अहिले दिनमै ५ सयदेखि ८ सय जनासम्म मानिसहरु नेपाल फर्किरहेको र यो संख्या बढीरहेको बताए । उनले स्थानीय तहको निर्वाचनलाई लक्षित गरेर पश्चिमी नाकाहरुमा छिमेकी देश भारतमा काम गर्न गएका नेपालीहरु धमाधम नेपाल फर्किन थालेको बताए

भारतबाट नेपाल फर्कने नेपालीहरुको संख्या बढेपछि नेपाली नागरिकको डाटा संकलन गर्ने कार्य भइरहेको छ । पछिल्लो समय भारतमा कोरोना भाइरसको संक्रमण बढी रहेकोले नेपाल आउनेहरुले अनिवार्य ७ दिन क्वारेन्टाइनमा बस्न र कोरोनाविरुद्ध खोप लगाउन छुटेकाहरुले खोप लगाउने तथा अनिवार्य स्वाथ्यका मापदण्डको पालना गर्न स्वास्थ्य मन्त्रालयले आग्रह गरेको छ ।

जुनसुकै उम्मेदवारलाई मत हाले पनि मतको कदर हुन नसकेको उनीहरुको गुनासो छ । उनीहरुले उम्मेदवारहरुले चुनाव अघि विभिन्न प्रतिवद्धता जनाए पनि चुनाव पछि पहिलाका प्रतिवद्धता बिर्सिने गरेको र आफ्नो लागि मात्रै सोच्ने गरेको भन्दै आक्रोश पोखेका छन् । नेपालमै रोजगारी सिर्जना गरेर नेपाली नागरिकलाई विदेश जानुपर्ने बाध्यताबाट मुक्त गर्नुपर्ने भारतबाट नेपाल फर्किएका नागरिकहरुको माग छ ।

दैनिकरुपमा भारतबाट स्वदेश फर्कने नेपाली नागरिकको संख्या बढ्दै जाँदा स्थानीय तहको निर्वाचनमा नेताहरुले जनाएको स्वदेशमै रोजगारीको प्रतिवद्धता भने चुनाव पछि बिर्सिने गरेको स्वदेश फर्किएका नागरिकको दुःखेसो छ । यो समस्या सामाधान नहुँदा नेपाली नागरिकले पुनः रोजगारीको लागि विदेश जानुपर्ने बाध्यता रहँदै आएको छ । जसले राजनीतिक दल र नेताहरुमा नागरिकले विश्वास गर्न छोडेको महशुस गर्न थालेका छन् ।

प्रतिक्रिया