फेरि राजनीतिक दुर्घटना हुन सक्छ : प्रचण्ड

काठमाडौं । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) ले गठबन्धनले निर्वाचन हारे देश दुर्घटनामा जाने बताएका छन् । पोखराको सभामा उनले देशमा गणतन्त्रवादी र गणतन्त्र विरोधी गठबन्धन चुनावमा रहेको बताउँदै गठबन्धनले चुनाव जितेन भने देश दुर्घटनामा जाने स्पष्ट पारेका हुन् ।
उनले आफूले राजनीतिक दुर्घटनाको कुरा गरेको बताएका हुन् । उनले भने, ‘कतिपय मानिसले मैले जनता धम्क्यायो, हामीलाई नजिताए दुर्घटना हुन्छ भन्यो भनेर गलत अर्थ लगाइएको छ । म फेरि पनि गम्भीर रुपले भन्न चाहन्छु, यो गठबन्धन देशलाई राजनीतिक दुर्घटनाबाट बचाउनका लागि जन्मिएको हो । यदि यो गठबन्धन दायाँबायाँ भयो भने देश फेरि राजनीतिक दुर्घटनामा जान सक्छ ।’
उनले राजनीतिक दुर्घटनाबाट बचाउनका निम्ति गठबन्धनलाई सफल गर्न आह्वान गरे । उनले गठबन्धन विचार र राजनीतिक मुद्दामा एकता, संविधानको रक्षा, गणतन्त्रको रक्षा, संघीयताको रक्षामा एकता भएको र सबैलाई फाइदा हुने किसिमले गठन भएको बताए। भरतपुरमा प्रचण्डले हँसिया हथौडामा भोट नहाले देश दुर्घटनामा जाने अभिव्यक्ति दिएका थिए । उनले भने, ‘तपाईंहरूलाई अहिले पनि यो गठबन्धन राष्ट्रको आवश्यकता हो, यो गठबन्धन गणतन्त्र र लोकतन्त्रको आवश्यकता हो, देश र जनताको समृद्धि र विकासको आवश्यकता भन्ने नबुझेर, हँसिया हथौडामा भोट हालिँदैन भनेर भन्नुभयो भने देश दुर्घटनामा जान सक्छ ।’
पोखरामा प्रचण्डले एमालेले गरेको तालमेलप्रति कटाक्ष गर्दै राजावादीहरुको गठबन्धन, गणतन्त्र विरोधीहरुको गठबन्धनलाई परास्त गर्न आवश्यक रहेको बताए । उनले भने, ‘अन्यथा देशमा राजनीतिक दुर्घटनाको खतरा छ ।’
उनले चुनावी अभियानका क्रममा चितवनमा दिएको सोही अभिव्यक्तिको कारण विवादित भएको कुरा स्मरण गर्दै गठबन्धनले चुनाव हार्दा देश हार्ने कुरा धम्की वा घुर्की नभएर सत्य भएको बताए । देशको संविधान जोगाउन बनेको गठबन्धनबाट स्थानीय निर्वाचनमा कुनै दललाई पनि घाटा नहुने बरु सबै दललाई र देशलाई पनि फाइदा हुने बताए ।
प्रतिक्रिया