भरतपुर महानगरपालिकामा मतगणना रोकिएपछि समाचार संकलनमा रोक, सर्वदलीय बैठक जारी

काठमाडौं । चितवनको भरतपुर महानगरपालिकामा मतगणना रोकिएको छ । सदर र बदर मतका विषयमा विवाद भएपछि मतगणना रोकिएको हो ।
मसी लत्पतिएको मतपत्र सदर गर्ने कि बदर गर्ने भन्ने विषयमा विवाद भएको जनाइएको छ । भरतपुर महानगरपालिका-२ को मतगणना भइरहेको अवस्थामा मतपत्रमा मसी लत्पतिएको फेला परेको थियो । मतपत्रमा छाप प्रस्ट नभएको भन्दै उम्मेदवारका प्रतिनिधिबीच विवाद भएपछि मतगणना रोकिएको हो ।
यही क्रममा समाचार संकलनका लागि खटिएका सञ्चारकर्मीलाई समेत अवरोध भएको छ । अहिले मिडियालाई फोटो तथा भिडियो खिच्न रोक लगाइएको छ भने उनीहरुलाई प्रहरी लगाएर बाहिर निकालिएको छ । वडा नम्बर २ को ८ स्थानमा मत गणना भइरहेको बेला गणना अवरुद्ध भएको हो ।
भरतपुर महानगरपालिकाको मतगणनाका सन्दर्भमा विवाद उत्पन्न भएपछि सहमति जुटाउन सर्वदलीय बैठक बसेको छ । मतगणनास्थलमै सर्वदलीय बैठक बसिरहेको हो । मतगणना अवरुद्ध हुनुअघि ५१ सय ७७ मतगणना सकिएको थियो । जसमा मेयरकी उम्मेदवार रेणु दाहालले १८६६ मत पाएर अग्रता कायम राखेकी छन् । यस्तै विजय सुवेदीले १८१४ मत पाउँदा स्वतन्त्र उम्मेदवार जगन्नाथ खतिवडाले ६१९ मत पाएका छन् ।
यस्तै उपमेयरमा कांग्रेसका उम्मेदवार चित्रसेन अधिकारीले भारी मतान्तर बनाएका छन् । उनले २०५० मत पाउँदा राप्रपाकी हिमला गुरुङले १४५१ मत पाएकी छन् । भरतपुर महानगरपालिकामा सत्ता गठबन्धनको तर्फबाट नेकपा माओवादी केन्द्रकी रेणु दाहाल मेयरकी उम्मेदवार छन् । नेकपा एमालेबाट विजय सुवेदी र स्वतन्त्र उम्मेदवार जगन्नाथ पौडेल मेयरका लागि प्रतिस्पर्धामा छन् ।
यसअघि २०७४ सालको निर्वाचनमा पनि भरतपुरमा मतगणनाको क्रममा विवाद भएको थियो । जसक्रममा माओवादी केन्द्रका प्रतिनिधिले मतपत्र चपाएका थिए ।
प्रतिक्रिया