मकवानपुरको थप दुई स्थानीय तहमा कांग्रेसको नेतृत्व

काठमाडाैं । स्थानीय तह निर्वाचनअन्तर्गत मकवानपुरका दसवटा स्थानीय तहमध्ये आज थप दुईवटा पालिकाको अन्तिम मत परिणाम सार्वजनिक भएको छ । सार्वजनिक भएका दुवै पालिकाको अध्यक्षमा गठबन्धनका तर्फबाट नेपाली कांग्रेस विजयी भएको छ ।
मकवानपुरको विकट क्षेत्र मानिने राक्सिराङमा कांग्रेसका राजकुमार मल्ल दोस्रो कार्यकालका लागि अध्यक्षमा निर्वाचित हुनुभएको छ भने मकवानपुरगढी गाउँपालिकामा अघिल्लो निर्वाचनमा हार व्यहोरेका दोर्जे लामा स्याङ्तान निवर्तमान अध्यक्षलाई नै पराजित गर्दै गाउँपालिका अध्यक्ष बन्न सफल भएका छन् ।
राक्सिराङमा मल्लले निकटतम प्रतिद्वन्द्वी नेकपा (एमाले) का बाबुलाल स्याङ्तानलाई ९०९ मतको अन्तरले पराजित गर्नुभएको हो । मल्लले पाँच हजार ४८१ मत प्राप्त गर्दा एमालेका उम्मेद्वार स्याङ्तानले चार हजार ५७२ मत प्राप्त गरे । त्यस्तै मकवानपुरगढीमा दोर्जेले ६ हजार ७०६ मत प्राप्त गर्दा एमालेका उम्मेद्वार निवर्तमान अध्यक्ष विदुर हुमागाईंले पाँच हजार ६४५ मत प्राप्त गरेका छन् ।
दुवै गाउँपालिकाको उपाध्यक्षमा गठबन्धनका तर्फबाट नेकपा (माओवादी केन्द्र) का उम्मेदवारहरू निर्वाचित भएका छन् । गढीमा माओवादी केन्द्रकी मनकुमारी पाख्रिन आशा र राक्सिराङमा माओवादी केन्द्रकै बनस्थम थिङ्ग निर्वाचित भएका छन् ।
निर्वाचन कार्यालयले जानकारी दिएको छ । मकवानपुरगढीमा यसअघि नेकपा (एमाले) विजयी भएको थियो भने राक्सिराङमा नेपाली कांग्रेस दोहोरिएको हो ।
मकवानपुरमा आइतबार तीनवटा स्थानीय तहको मतपरिणाम सार्वजनिक भइसकेको छ । मतपरिणाम सार्वजनिक भएका पाँचवटा स्थानीय तहमध्ये तीन वटामा नेपाली कांग्रेस र दुईवटामा नेकपा (एमाले) विजयी भएका छन् ।
प्रतिक्रिया