वीरेन्द्रनगरमा ढल्यो रुख, उदायो सूर्य !

सुर्खेत । वीरेन्द्रनगरको मेयरमा एमालेकी उम्मेद्वार मोहनमाया ढकालले बाजी मारेकी छन् । उनले १५ हजार ८५९ मल ल्याउँदै कांग्रेसका उम्मेद्वारलाई पराजित गरेर मेयर पदको बाजी मारेकी हुन् । उनका निकटम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका उपेन्द्रबहादुर खड्काले १५ हजार ३११ मत प्राप्त गरेका छन् । मेयर पदमा तेस्रो स्थानको मत राप्रपाका मुकुन्दश्याम गिरीले ल्याएका छन् । उनले ९,८३१ मत ल्याए ।
मेयर पदमै एकीकृत समाजवादीकी धनकुमारी जीसीले ४५३ मत ल्याइन् भने राष्ट्रिय जनमोर्चाका विष्णुप्रसाद शर्माले ६७ मत ल्याएका छन् । नेमकिपाका गोविन्दनाथ योगीले १५३ मत, जसपाका गगनबहादुर सारुले १०८ मत ल्याएका छन् ।
यसैबीच उपमेयरमा एमालेका नीलकण्ठ खनालले २० हजार १६३ सय मत ल्याइ विजयी भएका छन् । उनका निकटम प्रतिद्वन्द्वी माओवादी केन्द्रकी शान्ति ढकालले ११ हजार ४१६ मत ल्याएकी छन् । यस्तै राप्रपाकी लक्ष्मीकुमारी सार्कीले ३,६०० मत ल्याइन् भने स्वतन्त्र उम्मेद्वार अनिल ढकालले ९३९ मत ल्याए । यस्तै एकीकृत समाजवादीका वीरबहार राउतले ८५३ मत ल्याएका छन् । यस्तै नेमकिपाबाट उम्मेद्वार बनेकी बिजुकला रानाले २०२ मत ल्याइन भने उपमेयरका अन्य उम्मेद्वारले सयभन्दा कम ल्याएका छन् ।
गठबन्धनका उम्मेदवार चुनावी मैदानमा आउँदा उपमेयरका नीलकण्ठलाई गतिलै उपहार प्राप्त भएको छ । गठबन्धन सम्झौताअनुसार उपमेयरमा माओवादी केन्द्रकी उम्मेद्वार शान्ति ढकाललाई मत दिइनुपर्थ्यो । तर कांग्रेसका असन्तुष्ट पक्ष र अन्यले पनि नीलकण्ठलाई नै मत दिएकाले फराकिलो मतान्तरले खनाल उममेयरमा निर्वाचित भए ।
वीरेन्द्रनगरमा कांग्रेस, माओवादी केन्द्र, एकीकृत समाजवादीलगायत गठबन्धनका उम्मेद्वार चुनावी मैदानमा थिए । कांग्रेसबाट उपेन्द्रबहादुरले मेयर र माओवादीकी शान्ति ढकालले उपमेयरमा उम्मेद्वारी दिएका थिए । गठबन्धनको सम्मानजनक मत आए पनि जित भने हुन सकेन । यसअघि वीरेन्द्रनगरमा कांग्रेसकै तर्फबाट देवकुमार सुवेदी मेयरमा निर्वाचित भएका थिए ।
राप्रपाबाट मेयर पदका उम्मेद्वार गिरीलाई भने कांग्रेस समर्थक ठूलो संख्याले भोट दिएको अनुमान गरिएको छ । कांग्रेसका केही नेता-कार्यकर्ताहरूको मत राप्रपाका गिरीलाई नगएको भए उपेन्द्रबहादुरको जित निश्चित हुन्थ्यो ।
सुर्खेतको मेयरमा कांग्रेस र एमालेका उम्मेद्वारबीच कडा प्रतिस्पर्धा थियो । एमालेकी मोहनमाया र कांग्रेसका उपेन्द्रबहादुर मतपरिणाममा अघिपछि भइरहेका थिए । सुरुमा त उपेन्द्रबहादुर ठूलो मतान्तरले अग्रता लिइरहे पनि अन्तत: वीरेन्द्रनगरको मेयरमा सूर्यले झन्डा गाड्न सफल भएको हो ।
प्रतिक्रिया