सोमबार, वैशाख ८, २०८२

पोखरा महानगर : एकीकृत समाजवादीका आचार्य ३,२७२ मतले अगाडि

नेपालखोज २०७९ जेठ ७ गते २०:५७

काठमाडाैं । स्थानीय तह सदस्य निर्वाचन–२०७९ अन्तर्गत पोखरा महानगरपालिकाको जारी मतगणनामा सत्ता गठबन्धनबाट प्रमुखका उम्मेद्वार नेकपा (एकीकृत समाजवादी)का धनराज आचार्यले तीन हजार २७२ मतले अघि छन् ।

मुख्य निर्वाचन अधिकृतको कार्यालयले आज साँझ ८ बजे जारी गरेको अद्यावधिक मत परिणाम विवरणानुसार ९२ हजार ५६१ मत गणनामा आचार्यले हालसम्म ३७ हजार १२२ मत प्राप्त गरी अग्रता कायमै राखेका छन् । यसैगरी प्रमुखका प्रत्याशी नेकपा (एमाले)का कृष्णबहादुर थापा ३३ हजार ८५० मत प्राप्त गरी आचार्यलाई पछ्याइरहेका छन् ।

यसैगरी महानगरको उपप्रमुखमा भने नेकपा (एमाले)का उम्मेद्वार मञ्जुदेवी गुरुङको अग्रता छ । गुरुङले ३८ हजार ५७६ मत प्राप्त गरी अग्रता बनाउँदा उनका निकटतम प्रत्याशी गठबन्धनका उम्मेद्वार नेपाली कांग्रेसका कोपिला रानाभाटको ३७ हजार ५४५ मत ल्याएका छन् । पोखरा महानगरका ३३ वडामध्ये हालसम्म २० वडाको अन्तिम मत परिणाम सार्वजनिक भएको छ ।

त्यसमा नेपाली कांग्रेसले १४ वडामा जित हासिल गरेको छ भने एमालेले छ वडा जितेको छ । गत वैशाख ३१ गतेदेखि पोखराको मतगणना सुरु भएकामा हालसम्म नेपाली कांग्रेसले वडा नं २, ३, ४, ७, ९, १२, १३, १४, २३, २४ ,२५, २६, २७ र २८ नं वडा जितेको छ ।

नेकपा (एमाले)ले वडा नं १, ५, ६, ८, १५ र २० मा विजयी भएको छ । पोखरामा एक लाख ४३ हजार २२६ मत खसेको थियो । अहिले पोखराका वडा नं १०, ११, १६, १७, १८, १९, २९, ३० र ३१ को मतगणना जारी छ ।

प्रतिक्रिया