बुधबार, वैशाख १०, २०८२

हम जायेगा अर्थात् दलबहादुर गुरुङ

सुनील उलक २०७९ जेठ १४ गते ११:३७

यो नाम धेरैले सुनेका होलान् धेरैले उनको जोक्स पढेका होलान् । तर उनीबारे थोरैले मात्र जानेका होलान् । साँच्चै उनी कथा-कहानी आख्यानका एक पात्र मात्र हुन कि वास्तविक नै हुन् भन्ने धेरैले थाहा पाउन सकेका थिएनन् ।

मैले पनि बच्चा हुँदादेखि नै उनका जोक्सहरु सुनेको थिए । धेरै रमाइलो लाग्थ्यो । त्यति बेला मह जोडीको सुरुवात नै भएको थिएन । हामीले सुरु-सुरुमा राजपाल र हाडाको प्रहसनहरु सुन्ने गर्दथ्यौ । एकचोटि हेरेको पनि थिएन । महजोडी भएर सँगै नहुँदै मदनकृष्ण श्रेष्ठको कार्यक्रम भने हेरेको थिएँ ।

यी त भए हाम्रा कुरा नेपालबाहिर नेपाललाई माया गर्ने तथा नेपाली भाषालाई माया गर्नेहरुको जमात परदेशमा पनि धेरै थियो । पूर्वमा असाम, डिब्रुगढ, तीन सुकिया, सिलोंग, डुवर्स पश्चिममा भाग्सु, देहरादुन, कुमाउ, गढवाल आदी ठाउमा नेपालीको संख्या केही कम भए पनि नजिकैको दार्जिलिङ, सिक्किमहरुमा भने नेपालीको बाहुल्यता धेरै थियो ।

यही दार्जिलिङको मारेबुङ चियाकमानमा बि. सं. १९७८ को चैतमा दलबहादुर गुरुङको जन्म भएको थियो । १८७३ फागुनमा तितलिया सन्धिलगत्तै पूर्वी नेपालका नेपालीहरु दार्जिलिङतर्फ झर्न थाले यही बेला यिनका जिजुबाजे धुजवीर गुरुङ पनि पाँचथरको मक्लुवा गाँउबाट दार्जिलिङ पुगेका थिए ।

वि.सं. १९९३-९४ तिर १६ वर्षे अल्लारे यी दलबहादुरलाई पाइलट बन्ने रहर जागेछ र भागेर कलकत्ता पुगेछ । पाइलट बन्न त सहज थिएन दु:ख र हण्डरले जहाज चलाउन गएको केटो गाडी चलाउने भएछ । २००५ साल तिर दार्जिलिङ फर्केपछि यिनले लाण्डरोभरको पुरानो खालको सानो जीपले दार्जिलिङ छिचोल्न थाल्यो । भनिन्छ टाईगर हिलमा जीप लगेर शयर गराउने उनि पहिलो ब्यक्ति थिए । साथै नेपाल भारतको सिमामा पर्ने तुम्लिङको चुचुरोसम्म पनि यिनले आफ्नो जीप लगेका थिए भन्ने कथा सुन्न पाईन्छ ।

यि दलबहादुर यस्तै अप्ठेरा तथा रात दिन घाम पानी नभनि जहा पनि जान तैयार हुने गर्दथे । यसै बिच उनको मुखबाट बारम्बार एउटै शब्द निस्कन्थ्यो, “कोही नहि जायेगा तो हम जायेगा” । पछि उनका साथीहरुले उनलाई हम जायेगा नै भनेर बोलाउन थाले । क्रमश सबैको मुखमा हम जायेगा नै बन्न पुगे ।

यसरी यात्रामा आफ्नो जीपमा जाने यात्रुहरुलाई उनले निकै रमाईलो जोक्सहरु सुनाउदै समय ब्यतित गराउदै घुमाउन थाले । उनको जोक्सहरु यति प्रख्यात हुन थाल्यो कि जोक्स सुन्न पनि उनको जीपमा चढ्नेहरुको संख्या बढ्न थाल्यो ।

५३ वर्षको उमेर सम्म जीप चलाए पछि घर परिवारलाई ध्यान दिन थालेका उनि एकैचोटी सबैको माझ कुसुमे रुमालबाट पर्दामा झुल्किए । साच्चै हम जायेगा भन्ने कस्तो हुनुहुदोरहेछ भन्ने कौटुहल सबैको मेटियो । अन्तमा २०४९ को बैशाखमा ७ छोरी र ३ छोरालाई छोडेर परलोक जानुभयो ।

No description available.

अन्तमा उहाँको एउटा मिठो जोक्स
एक दिन रमाइलो फुटबलको आयोजना भएछ । एउट टिम उ जस्तै जीप चलाउने साथीहरुको समुहको थियो । खेल आधा पुग्दा सम्म हम जायेगाको टीमले ३ गोल खाएछ । आधा पछि हम जायेगालाई पनि खेल्न अनुरोध गरेपछि छिटो छिटो जुत्ता लगाएर खेल्न पुगेछ । त्यसपछि गोल पोष्ट नजिकै उनले हानेको बल गोल भएछ । यसरी नै उनले हानेको गोल किपरले कुनै पनि समाउन सकेनछ । अन्तमा खेल हम जायेगाको टीमले जितेछ । बिपक्षी टीमको किपरलाई निकै अनौठो लागेर हम जायेगा नजिक आएर खुट्टा हेरेछ । हम जायेगाको खुट्टामा त जुत्ता उल्टो लगाएको रहेछ । त्यसैले बल हानेको ठाउमा नगएर अर्को तर्फ जादोरहेछ र गोल भएको रहेछ । त्यो देखेपछि सबै मरि मरि हासेछ ।

प्रतिक्रिया