सचेत हौं !

सदा झैं नेपालमा यो वर्ष ०७९/ ८० को नयाँ बजेट आएको छ । अर्थमन्त्री जनार्दन शर्माले १५ जेठमा १७ खर्ब ९३ अर्ब ८३ करोड आकारको बजेट पेस गर्नुभएको थियो । यो बजेटलाई नेपाल चेम्बर अफ कमर्स र विभिन्न स्वतन्त्र विचार राख्ने अर्थशास्त्रीहरुले यथार्थमा आधारित नभइ ‘पपु लिस्ट बजेट’ का रुपमा टिप्पणी गरेको पाइयो ।
म अर्थविद् वा अर्थशास्त्रको विद्यार्थी होइन तर मैले विगत धेरै वर्षदेखि नेपालमा विभिन्न सरकारबाट यस्ता धेरै ‘पपुलिस्ट’ बजेट देखें । जसले जे भने पनि २०४६ सालदेखि देशवासीको जुन उन्नति कल्याण हुनुपर्ने हो त्यो त्यति भएको छैन । बजेटको आकार जति बढ्दै गए पनि हाम्रा हजारौं युवा-युवती दैनिक रोजगारीको खोजमा आफ्नो देश छोडेर विदेश पलायन भएको देख्छु ।
त्यस्तै यहाँ बर्सेनि हत्या, हिंसा, बलात्कार, साम्प्रदायिक दंगा, भ्रष्टाचार, गुन्डागर्दी, तस्करी, बेरोजगारी, कालाबजारी, नातावाद कृपावाद, कानुन र व्यवस्थाको अभावका साथै राजनीतिमा व्यापक विदेशी चलखेल र हस्तक्षेप आदि विकृति र विसंगतिमा चाहिँ प्रगति भएको देख्छु ।
हामी भोट् किन दिन्छौं ? सरकार किन बनाउँछौं ? प्रत्येक वर्ष बजेट किन ल्याइन्छ ? उत्तरमा सायद देशको स्थिति र परिस्थिति बदल्न भनिन्छ ।
तर लोकतान्त्रिक राजनीतिक व्यवस्था भने पछिल्लो तीस वर्षदेखि यहाँ जो छ, त्यसले यहाँ कुनै तात्त्विक विकास र आर्थिक परिवर्तन र सुधार भएको पाइँदैन । तपाईं-हामीलाई यहाँ कुनै नेता, कुनै पार्टी, कुनै विचार राम्रो लाग्दो होला । तर ती सबै असफल भइसके भन्ने मलाई लाग्छ । ती सबै ठग, लुटाहा, फटाहा साबित भइसके । फेरि तिनको परीक्षण गर्नु भनेको बालुवामा पानी हाल्नुजस्तो हो ।
मेरो विचारमा एउटा सच्चा, इमानदार, नैतिकवान्, विचारशील, पढेलेखेको दक्ष नेताले चाह्यो भने पाँच/सात वर्षमा यो सानो नेपालको कायापलट गर्न सक्छ । तर दु:खको कुरा के हो भने हाम्रो देशमा यस्ता पुराना नेता पहिले दुई-चार जाना देखिन्थे तर अहिले कोही पनि छैनन् । अहिले गाली-गलौज, आरोप-प्रत्यारोप र कुतर्क गर्ने नेताहरु बढी देखिन्छन् । यहाँ मुलुकको मुहार फेर्ने ‘भिजिनरी’ कोही नेता देखिँदैन । कुनै नेतासँग पनि देश बनाउने सोच छैन । मात्र कसरी मन्त्री हुने, अनि लुटेर धनी हुने, स्वास्नी छोराछोरीहरुलाई कसरी सांसद्, नेता बनाउने र राजनीतिक नियुक्तिहरु दिने । नजिकका नातेदारहरुलाई कसरी जागिर खुवाउने आदिमा मात्र रातदिन लागेका देखिन्छन् ।
नेताहरुको लुटको यो धन्धा बरकरार छ । यिनीहरुले चुनावमा तपाईं-हाम्रो भोट कहिले सिद्धान्तको कुरा गरेर, कहिले झुटो बोलेर त कहिले डर, धाक, धम्की र लोभ देखाएर लुटिरहेका छन् । यसपालि आमचुनाव हुनेवाला छ । हुन्छ कि हुँदैन थाहा छैन । भयो भने तपाईं-हाम्रो लँगौटी पनि अब लुटिने बेर लाग्दैन । अबचाहिँ सचेत हौं, है ।
प्रतिक्रिया